२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

उदयपुरमा पत्रकारमाथि आक्रमण, क्यामेरा तोडफोड, रौता खानेपानी उद्योगलाई कारबाहीको माग

ADV
बिन्द्र राई
२०८१ असोज २४ गते १५:३२
उदयपुरमा पत्रकारमाथि आक्रमण, क्यामेरा तोडफोड, रौता खानेपानी उद्योगलाई कारबाहीको माग

उदयपुर : रौता खानेपानी उद्योगको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको संवेदनशीलतालाई  मध्यनजर गर्दै सो उद्योगमा बुधबार रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण भएको छ ।

पत्रकार विक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरीलगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनका उदयपुर संवाददाता हुन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सोबारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइदिए । मोबाइल कब्जामा लिएर हेल्मेटले आक्रमण गरेको पत्रकार विक्रमले बताए ।

यसबारे स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिइएको उनले बताए । क्यामेरा फुटाएको मुचुल्कासहित घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

No description available.

यता नेपाल पत्रकार महासंघ शाखा उदयपुर, प्रेस सेन्टर नेपाल लगायत पत्रकारजन्य संघसंस्थाले विज्ञप्ति जारी गरी घटनाको घोर भत्सर्ना गरेको छ । साथै पत्रकार सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गरेको छ । पत्रकारलाई न्याय तथा उचित क्षतिपूर्तिको मागसमेत गरिएको छ ।

दशैंको मुखमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने कम्पनीमाथि तुरुन्त अनुगमन र गुणस्तर परीक्षण गरी कारबाही गर्नसमेत माग गरिएको छ ।

उक्त कम्पनीले बजारमा लगेको पानीमा पटक–पटक लेदो, किरा र अखाद्य बस्तु फेला पर्दै आएको उपभोक्ताको गुनासो छ । यसअघि स्थानीय प्रशासनले अनुगमन र कारबाहीसमेत गरेको उक्त कम्पनीको लापरबाही नहटेको यो घटनाले पुष्टि गरेको स्थानीयहरु बताउँछन् ।

पत्रकार महासंघ उदयपुरले पत्रकारमाथि  दुर्व्यवहार गर्ने रौता पानी फ्याक्ट्रीका सञ्चालक पर्शुराम चौधरी र संलग्न श्रीमती र छोरामाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise