२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

अन्तर व्यवस्थापिका संघसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

Nada
२०८१ असोज २९ गते १३:३८
Shares
अन्तर व्यवस्थापिका संघसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौंः अन्तर व्यवस्थापिका संघको १४९औं बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

ncell

दुवै भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रको सुदृढीकरणका लागि संसदीय भूमिकालगायत विषयमा छलफल भएको थियो । जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

अध्यक्ष दाहालले आइपियूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकासलगायत विषयमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए। 

अध्यक्ष दाहालले संसदीय अभ्यासलाई अझ परिस्कृत तुल्याउन तथा लोकतान्त्रिक संस्थाहरुलाई सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग नेपालले घनिभूत सहकार्य गर्न चाहेको बताए । आइपियूसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उनले यसको सचिवालयमा नेपालको पनि सहभागिता आवश्यक भएको विचार व्यक्त गरे । साथै उनले त्यसनिम्ति गृहकार्य गर्न अनुरोध पनि गरे ।

संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले संघीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रुपमा सहभागी रहेका बताए ।

अध्यक्ष अक्सनले नेपाल विगतदेखि नै आइपियूमा सक्रिय सहभागी भएकामा त्यसको सराहना गर्दै नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिताको प्रशंसा गरे । साथै उनले आइपियू सचिवालयमा नेपाललाई समावेश गर्न आफू सकारात्मक रहेको बताए । संघको बैठक आगामी कात्तिक १ गते समापन हुनेछ । 

ताजा खबर

सम्बन्धित खबर