२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सिराहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १२:२१
सिराहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

लहान : सिराहाबाट भारततर्फ लैजाँदै गरिएको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका-१५, बुधौरास्थित सशस्त्र प्रहरीको टोलीले भन्सार छलि गरेर लैजान खोजिएको मदिरा नियन्त्रणमा लिएको हो । 

घटनामा संलग्न तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेका अनुसार मदिरा भन्सारको प्रक्रिया पूरा नगरी चोरी पैठारीमार्फत भारत पठाउन लागिएको थियो । मोटरसाइकलमा लोड गरिएको 'सोफी' ब्रान्डको मदिरा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उक्त मदिरा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको मदिराको मूल्य अन्दाजी ८१ हजार रुपैयाँ बराबर रहेको छ ।

सशस्त्र प्रहरी प्रमुख गैरेले भने, "भन्सार छलि गरेर अवैध रूपमा भारततर्फ मदिरा लैजान खोजिएको थियो । हाम्रो टोलीले समयमै कारबाही गरेर नियन्त्रणमा लिन सफल भयो ।" यसै क्रममा प्रहरीले मदिरा लोड गरिएको तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

सिराहा क्षेत्र भारतसँगको सीमावर्ती जिल्ला भएकाले यस क्षेत्रमा सीमा अपराध बढ्दो क्रममा रहेको छ । अवैध सामानको तस्करी, मदिरा, लागूऔषध, तथा अन्य भन्सार छलि भएका सामग्रीको ओसारपसार हुने गरेको पाइन्छ । तर, सशस्त्र प्रहरीको सक्रियताका कारण यस प्रकारका गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न निरन्तर प्रयास भइरहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल र मदिरालाई आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको छ । यस्ता अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिने पनि सशस्त्र प्रहरीले जानकारी गराएको छ । साथै, सीमाक्षेत्रमा अवैध क्रियाकलापहरू रोक्नका लागि थप सतर्कता अपनाउने र निगरानी बढाउने योजना पनि प्रहरीले बनाएको छ ।

सिरारहामा अवैध मदिराको तस्करीको घटना पहिलोपटक भने होइन । यसअघि पनि सीमाक्षेत्रका विभिन्न नाकाहरूबाट अवैध रूपमा मदिरा तथा अन्य सामग्रीको ओसारपसार भइरहेको थुप्रै घटना सार्वजनिक भएका छन् । यस्ता घटनाहरूमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी र भन्सार कार्यालयले संयुक्त रूपमा अभियान चलाइरहेको छ ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा यस्ता गतिविधि नियन्त्रण गर्नका लागि नागरिकलाई पनि सहयोग गर्न आग्रह गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise