२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

धौलागिरि हिमालमा ज्यान गुमाएका पाँच रसियन आरोहीको शव काठमाडौँ ल्याइयो

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १६:००
धौलागिरि हिमालमा ज्यान गुमाएका पाँच रसियन आरोहीको शव काठमाडौँ ल्याइयो

 काठमाडौँ : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ ल्याइएको छ ।  सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको  शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा ल्याएको छ  । 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise