काठमाडौं: हनि ट्रयाप प्रकरणमाथिको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ । यही क्रममा प्रहरीले प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।
हनी ट्यापिङमा पारेर असुली गर्ने समूहसँग शंकास्पद सम्बन्ध रहेको पाएपछि शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । बुधबार प्रहरीले शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति नै लिएको हो ।
बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप उनीमाथि लागेको छ । यही आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले शाहीलाई यही असोज १० गते जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि यो घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन थालेको थियो ।
छानबिनका क्रममा केही कैफियत देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको हो ।
ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यो मामलामा जाँच गर्न एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति बनाएको थियो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार घटनाको छानबिनका लागि ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा बनेको समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्ने काम भइरहेको छ ।
ललितपुर प्रहरीका अधिकृतहरुका अनुसार उनले शंकास्पद गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको अरोप लागेको छ । प्रहरीका अनुसार, शाही नेतृत्वको प्रहरी टोलीले ७ असोजमा एक जना व्यवसायीलाई शान्ति सुरक्षा असर पु¥याएको कसुरमा पक्राउ गरेको थियो । पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै लेनदेन गरेको आरोप लागेको छ ।
उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । प्रकरणमा मुछिएका थप केही व्यक्ति समेत फरार रहेको बताइएको छ ।
घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको बताइएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही मिलेको ती व्यवसायीले आरोप लगाएका थिए ।