काभ्रेपलाञ्चोक : गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छ भने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका-२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरू पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरी देउराली गाउँपालिका-६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।
धुलिखेल नगरपालिका-८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका-४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका-६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् । बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताए । उनका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए ।
बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात/सात तथा बनेपा र भुम्लुका तीन/तीन जनाले ज्यान गुमाए । धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एक जनाले बाढीपहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।
काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् ।
सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् संकटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरी देउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।
सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु. दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन ।