२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

अफ्रिका महादेशमै पहिलो पटक सेसेल्स आइल्याण्डमा ‘दशैं मेला’ सम्पन्न

ADV
मध्यान्ह
२०८१ कार्तिक २ गते २२:३५
अफ्रिका महादेशमै पहिलो पटक सेसेल्स आइल्याण्डमा ‘दशैं मेला’ सम्पन्न

अनिल बानिया/मध्यान्ह

सेसेल्स आइल्याण्ड : अफ्रिका महादेशमै सम्भवतः पहिलो पटक दशैं मेला सेसेल्स आइल्याण्डमा सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत् तथा छठ पर्वलाई प्रतिनिधित्व हुने गरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सको आयोजनामा ‘दशैं मेला २०२४’ सम्पन्न भएको हो । 

सेसेल्सको राजधानी माहे आइल्याण्ड, भिक्टोरियामा आयोजित मेला अक्टोबर ५ र ६ गरी दुई चरणमा सम्पन्न भएको थियो । कार्यक्रम प्रवेशका लागि टिकट तथा टोकनको व्यवस्था गरिएको थियो भने टिकट लिनेहरुका लागि बम्पर उपहारको समेत व्यवस्था गरिएको थियो । 

पहिलो दिन अक्टोबर ५ मा साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय उपाध्यक्ष गणेश खड्काको प्रमुख आतिथ्यता तथा एनआरएनए सेसेल्सका अध्यक्ष मनोज वि.कको सभापतित्वमा कार्यक्रम भएको थियो । 

दशैंको रौनकका दिन कार्यक्रमस्थलमा लिङ्गे पिङ हालिएको थियो, जसले विदेशी भूमिमा पनि आफ्नोपन झल्किएको थियो । त्यस्तै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाली राष्ट्रिय झण्डा, ढाका टोपी, कपडा लगायत विविध नेपाली तथा स्थानीय खाद्य परिकारहरु साथै नेपाल र नेपाली चिनाउने तथा पर्यटन प्रवद्र्धन गर्ने सामग्रीहरुको स्टल समेत राखिएको थियो ।

सेसेल्सका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु एलिजाह र तानियाको सांगीतिक प्रस्तुतिसहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो । यस्तै दोस्रो दिन अक्टोबर ६ मा राष्ट्रिय खेलकुद परिषद् सेसेल्सको समन्वयमा पहिलो पटक नेपाली भलिबल प्रतियोगिता राखिएको थियो । उक्त खेलमा आयोजक टिम एनआरएनएसहित पाँच समूहले सहभागिता जनाएका थिए ।
नेपाली साहित्यको सम्बद्र्धन, प्रवद्र्धन, उन्नयन र विश्वव्यापीकरण अभियानलाई बढावा दिँदै सेसेल्समै पहिलो पटक एनआरएनए भाषा–साहित्य समितिले  खुल्ला नेपाली कविता प्रतियोगिता आयोजना गरेको थियो । उक्त कार्यक्रम महेन्द्र भट्टराईको संयोजकत्वमा भएको थियो । 

उक्त प्रतियोगितामा १६ वटा कविताहरु प्राप्त भएका थिए । जसबाट उत्कृष्ट ३ कविता घोषणा गरिएको थियो । उत्कृष्ट तीन कविहरु गायत्री कुलुङ राई, एकनाथ चौधरी र नवीन तामाङलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय उपाध्यक्ष खड्काले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदूत नरेश दास रहेका थिए भने अतिथिहरुमा एनआरएनए सेसेल्सका संरक्षक तथा अनेसास अफ्रिका महादेशीय च्याप्टर कार्यसमिति सदस्य रामचन्द्र राई, एनआरएनए सेसेल्सका सल्लाहकारहरु दुर्गा थापा र कोमल पाण्डे रहेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आमन्त्रित कलाकारहरु लोकदोहोरी गायक राजु परियार र गायिका ज्योति मगरको धमकेदार प्रस्तुति रहेको थियो । यस्तै दोस्रो दिन भलिबल प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई नगद पुरस्कारसहित ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तमा बम्पर उपहारको नतिजा सबैको सामु कार्यक्रम प्रवेश टिकटको अर्धकट्टी समावेश गरेर खोलिएको थियो । उक्त उपहारमा तेस्रो पुरस्कार पाँच जनालाई स्मार्ट घडी, दोश्रो पुरस्कार एक जनालाई ३२ इन्चको रङ्गीन टिभी तथा प्रथम पुरस्कार होण्डा कम्पनीको स्कुटर प्रदान गरिएको थियो ।

छोटो समयमा स्थापना भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सेसेल्सले सामाजिक सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise