सिरहा : प्रेस चौतारी नेपाल सिरहाले पत्रकार विजय साहको गिरफ्तारी प्रति कडा विरोध जनाएको छ । दस्तक खवरका सञ्चालक तथा प्रेस चौतारी नेपालका सदस्य विजय साहलाई इलाका प्रहरी कार्यालयले लहानस्थित दस्तक खवरको कार्यालयमा काम गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रेस चौतारी नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार साहले नेपाली संस्कृति र परम्पराको सम्मान गर्दै सदैव सत्यको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरिएको छ । उनले हालै दशैं पर्वको अवसरमा लहानको दुर्गा मन्दिरमा आयोजना गरिएको मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तुत गरिएका अश्लिल नृत्य र उछृंखल गतिविधिहरूको विरुद्धमा सचेतनामूलक सन्देश लेखेका थिए । उक्त सन्देशको आधारमा साहलाई पक्राउ गर्नु पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको हनन भएको ठहर गरिएको छ ।
प्रेस चौतारी नेपालको विज्ञप्तिमा प्रहरीद्वारा गरिएको यो कार्बाहीले समाजमा अश्लिलतालाई बढावा दिएको र कुनै पनि दमनात्मक कार्यले लोकतन्त्रको मूल्यमान्यता कमजोर बनाउने उल्लेख गर्दै सरकार र सम्बद्ध निकायलाई पत्रकारिता र अभिव्यक्तिको अधिकारको संरक्षण गर्न पनि आग्रह गरिएको छ । अध्यक्ष शिवकुमारद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पत्रकार साहको तुरुन्त र निशर्त रिहाको माग गरिएको छ ।