काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकलाई भेटेर समसामयिक बिषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । गत शुक्रवार संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री लेखकसँग भेट गरेको हो ।
संघका उपाध्यक्ष रामशरण सिमखडाका अनुसार मन्त्री लेखकले भेटका क्रममा गैरआवासीय नेपालीहरुलाई नेपाली नागरिकताको निरन्तरताको लागि निरन्तर पहल जारी राख्न आग्रह गरेका छन् ।
उनले संविधानद्वारा प्रदत्त गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका कानुनी अडचनहरु फुकाउन पहल गर्ने आश्वासनसंगै कानुन सचिवलाई यसबारे निर्देशन समेत दिएका छन् । यसैगरी मन्त्री लेखकले समान पेन्सन र अधिकारको माग गरिरहेका भूपूगोर्खाहरुको मुद्दा सम्बोधन गर्न परराष्ट्र मन्त्रालयसंग सहजिकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
म्यानमार, थाइल्याण्ड, मलेसिया, सिगापुर, कम्बोडिया, मोरिशस र फिजीमा रहेका करिब पाँच लाख गैरआवासीय नेपालीहरुको अभिलेखीकरंण गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्री लेखकले बताए ।
यसैबीच संघको अन्तराष्ट्रिय समन्वय परिषद्को बैठक आज बस्ने भएको छ । संघका महासचिव गौरीराज जोशीका अनुसार बैठक भरर्चुअल माध्यमबाट बस्नेछ ।
बैठकले संघको वार्षिक साधारणसभा लगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्नेछ । आगामी अक्टोबर २७ तारिखदेखि काठमाडौंमा सुरु हुने संघको वार्षिक साधारणसभालाई केन्द्रमा राख्दै बैठकमा तयारी, संघको आर्थिक स्थिति, वार्षिक प्रतिवेदन, र अन्य रणनीतिक विषयहरुमासमेत व्यापक छलफल हुने बताइएको छ । एनआरएनए केन्द्रीय समितिको १०० औं बैठकको रुपमा बस्न लागेको यो बैठकले संघको भावी योजना र गतिविधिहरूको समीक्षा गर्ने बुझिएको छ ।