बझाङ : आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङ प्रथम भएको छ ।
सुदुरपश्चिम प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रम’ को अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङलाई सम्मान गरेको हो ।
गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा सेवा प्रवाह आदि मुख्य–मुख्य सूचकहरुको आधारमा मुल्याकंन गर्दा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बझाङले सुदुरपश्चिम प्रदेशमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमध्ये प्रथम स्थान प्राप्त गरेको छ । अघिल्लो पटक जिल्ला आयुर्वेद प्रदेशभरी दोस्रो भएको थियो । यसैबीच आर्थिक वर्ष २०८०/०८१ को प्रदेशस्तरीय वार्षिक समीक्षामा जिल्ला अस्पतालहरुमध्ये जिल्ला अस्पताल बझाङ द्धितीय भएको छ ।
सोही अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरी, स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशी, जिल्ला अस्पताल बझाङका मेडिकल अधिकृत डा.पदम राज जोशी रहेका छन् ।