२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दलीय वडाध्यक्षलाई बालेन चुनौती

ADV
शिव विक
२०८१ असार ३ गते ०६:५५
दलीय वडाध्यक्षलाई बालेन चुनौती

काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेबाट चुनाव जितेका काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुले आइतबार बसेको नगरसभा बैठक बहिष्कार गरेका छन् । 

आइतबार काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रो बैठक बसेको थियो । जहाँ कांग्रेस र एमालेबाट चुनाव जितेका वडाध्यक्षहरु पनि सहभागी थिए ।

छलफलको कार्यसूचीमा गत जेठ ३२ गते काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नगर सभामा प्रस्ताव गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीतिमाथि छलफल गर्ने विषय थियो । 

बैठकको सुरुमा मेयर शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरूलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिए । लगत्तै कांग्रेस र एमालेबाट चुनाव जितेका वडाध्यक्षहरू बैठक बहिष्कार गरेर निस्किए ।

नेताहरुका अनुसार आइतबारको घटनाले मात्रै महानगरभित्रको राजनीति बुझिन्न । यसअघि पनि मेयर बालेनले राजनीतिक दल लक्षित दिने गरेका अभिव्यक्ति र नीति तथा कार्यक्रममा दलहरुले बढाउन चाहेको हस्तक्षेपलाई कारक मान्दछन् । 

काठमाडौं महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रभाव जमाउने प्रयासमा कांग्रेस र एमालेबाट चुनाव जितेका वडाध्यक्षहरु छन् । यसमा मेयर बालेन शाह असहयोगी रहने देखेपछि उनीहरुले प्रतिवादमा नगरसभा बैठक नै बहिष्कार गरेका हुन् । 

वडाध्यक्षहरुले बैठक बहिष्कार गरेपछि महानगरपालिका प्रमुख शाहले बैठक स्थगित गरे ।

नेताहरुका अनुसार न्युरोडलाई ‘नो भेकल जोन’ बनाउने महानगरपालिका प्रमुख शाहको प्रस्ताव थियो । उक्त प्रस्तावलाई आइतबार बस्ने नगर सभामा पारित गर्ने तयारी गरिएको थियो । यस कारणले समेत दलीय प्रतिनिधिहरु झस्किएको बताइन्छ । 

न्युरोडमा सडक काटेर फुटपाथ थप्ने महानगरपालिकाको योजनामा केही वडाअध्यक्षहरू असन्तुष्ट छन् । 

गत जेठ १८ गते बसेको महानगरपालिका ३२ औँ नगर कार्यपालिका बैठकमा यही विषयमा झण्डै २५ मिनेट महानगर प्रमुख शाह र वडा अध्यक्षहरूबीच सवालजवाफ भएको थियो ।

महानगरपालिका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले महानगरपालिकाले आफूखुसी न्युरोडलाई खण्डीकरण गरेको र यो काम तत्काल रोक्नू भन्दै प्रमुख शाहसँग आक्रोश पोखेका थिए । 

वडाध्यक्षहरुले बैठक बहिष्कार गरेपछि महानगरपालिकाका प्रमुख बालेनले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु भन्दै आक्रोश पोखेका छन् ।

उनले सामाजिक भनेका छन्, ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ, यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ, नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन् ।’ 

कार्यपालिकाका सदस्यहरुको हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने उनको भनाइ छ । 

‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन’ अगाडि भन्छन्, ‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise