काठमाडौं : सरोकारवालाहरूले बेइजिङ प्लस ३० मा नेपालका एजेन्डाले प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन् ।
सन् २०२५ को मार्चमा अमेरिकाको न्यूयोर्कमा बेइजिङ प्लस ३० समीक्षा हुँदैछ । उक्त समीक्षामा नेपालले नेपाली महिलाको प्रगति सुनाउने तयारी गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी बेइजिङ प्लस रिभ्यूमा नेपालले नागरिक समाजहरुको तर्फबाट नेपाली महिलाको सामाजिक, राजनीतिक र आर्थिक प्रगतिको विषय उठान गर्ने बताउँछन् ।
बेइजिङ प्लस ३० का बारेमा भएको राष्ट्रिय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सुडीले बेइजिङं समीक्षा र कार्ययोजना महिला सशक्तिकरणको लागि दूरदर्शी एजेन्डा भएको बताए ।
निजी र सार्वजनिक सबै क्षेत्रहरूमा महिला सशक्तिकरणको लागि सरोकारका क्षेत्रहरु पहिचान भएको उल्लेख गर्दै उनले बेइजिङ प्लस ३० समीक्षाले महिला र बालिकाहरूको सशक्तिकरणलाई समर्थन गर्ने र भविष्यका लागि महत्वपूर्ण नीतिगत निर्णयहरूमा योगदान पुर्याउने बताए ।
विश्वका अन्य मुलुकलाई नेपालको स्थानीय सरकारमा ४१ प्रतिशत महिला सहभागिताको विषय अनुसरण गर्न लायक हुने गरी सुनाइने बताए । राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिता, न्यायपालिका र व्यवस्थापिका प्रमुख भएर महिलाले खेलेको भूमिका, राष्ट्रपतिका दुई कार्यकाल महिलाले नेतृत्व गरेको विषय अन्य मुलुकले अनुसरण गर्न लायक रहेको सुनाए ।
उनी भन्छन्, ‘स्थानीय सरकारमा ४१ प्रतिशत महिला सहभागिता, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक प्रावधान, महिलाले न्यायपालिका र व्यवस्थापिका हाँकेको राष्ट्रपतिमा दुई कार्यकाल महिला रहेको उदाहरण अर्को कुन मुलुकको छ ? यसकारण नेपालबाट अन्य मुलुकले सिक्नुपर्छ ।’
१९९५ मा चीनको बेइजिङमा चौथो विश्व महिला सम्मेलन भएको थियो । उक्ता सम्मेलनको घोषणा र कार्यमञ्चले पारित गरेको १२ वटा सवालका विषयमा छलफल चलिरहेको छ ।
चौथो विश्व महिला सम्मेलनले महिलाको मानव अधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणा र कार्यमञ्चले महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला विरुद्ध हिंसा लगायतका १२ वटा सरोकारका सवालहरु पारित गरेको थियो ।
उक्त सम्मेलनले बेइजिङ घोषणा र कार्यमञ्च कार्यान्वयन गर्नका लागि नेपाल सरकारले हस्ताक्षर गरी प्रतिवद्धता गरे बमोजिम हरेक पाँच वर्षमा त्यसको प्रगति, कार्यान्वयन गर्दा सामना गरेका चुनौती, अवसर र कार्यान्वयन गर्न बाँकी रहेका कामहरुको प्रतिवेदन तयार गर्नेछ ।
जसले लैंगिक समानता, बालिका र महिला सशक्तिकरणको सवाललाई थप जोडका साथ महिला र बालिकाको आवाजहरु स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तहसम्म पुर्याउन अवसर प्रदान गर्दछ । त्यसबाट अन्य मुलुकले सिक्ने यो सम्मेलनको प्रमुख उदेश्य हो ।