
नुवाकोटः स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहोर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहोर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् ।
फोहोर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिए ।
उनको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ । ककनी गाँउपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहोर विसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका जनाइएको छ ।
स्थानीयहरुले विसंं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने, र फोहोर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहोर बाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् । आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौं महानगरपालिकाको प्रतिनिधि प्रभावित क्षेत्रमा नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको सङ्ख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।
स्थानीयले स्वःस्फूर्त रूपमा सङ्गठित भएर विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको फोहोर विसर्जनको अवरोधमा ककनी र धुनबेसीँका जनप्रतिनिधि र दलीय प्रतिनिधिले पनि साथ दिएका छन् ।