२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

अराजकताको डर

ADV
२०८१ कार्तिक १२ गते ०६:५०
अराजकताको डर

सिंहदरबार नजिकै रहेको माइतीघर मण्डलामा सहकारी पीडितहरुले प्रदर्शन गरिरहेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको आयोजनामा उनीहरुले प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनकारीले यसअघि सरकारबाट भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग राखेका छन् । माइतीघर मण्डलामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको पनि प्रदर्शन चलिरहेको छ । केही दिन पोखरामा प्रदर्शन गरेका रास्वपाका नेताहरु अहिले राजधानी फर्केर माइतीघर मण्डलामा प्रदर्शन थालेका छन् । रास्वपाका कार्यकर्ताले पनि सहकारी पीडितलाई न्याय दिनुपर्ने प्लाकार्ड बोकिरहेका छन् । तर रास्वपा कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने प्लाकार्ड बोके पनि अन्तर्य भने आफ्ना पार्टी रवि लामिछानेलाई हिरासतबाट छुटाउनु हो । गत २ कात्तिकमा सहकारी बचत रकम अपचलनको आरोपमा पक्राउ परेका रविलाई पोखरा लगिएपछि रास्वपाका कार्यकर्ताहरु पनि त्यही गएका थिए । तर तिहार अघि रवि नछुट्ने पक्का भएपछि उनीहरु राजधानी फर्किएर प्रदर्शन थालेका हुन् । 

रास्वपाले अदालतको निर्णयलाई प्रभावित बनाउनेगरी प्रदर्शन गरिरहेपछि वास्तविक सहकारी पीडितहरुले पनि प्रदर्शन थालेका हुन् । यदि रविको पक्षमा प्रदर्शन हुन्थेन भने उनीहरुले यो समयमा सडक प्रदर्शन नगर्न सक्थे । तर ठगी आरोपमा परेका रविकै पक्षमा सडक प्रदर्शन हुन थालेपछि पीडितहरुले चुप लागेर बस्न नसकेको बुझ्न गाह्रो पर्दैन । अर्थात् माइतीघर मण्डलामा अहिले एकप्रकारले धेरैले नहोस् भनेको प्रदर्शन भइरहेको छ । किनकि नेपाली राजनीतिमा रास्वपालाई वैकल्पिक शक्तिमा रुपमा हेरिएको थियो । टेलिभिजन प्रस्तोताको जागिर छोडेर पार्टी घोषणा गरेको पाँच महिना नपुग्दै २० सिट (उपचुनावपछि २१ सिट) सहित प्रतिनिधि सभाको चौथो शक्ति बन्न सक्नुको अर्थ रास्वपाप्रति नागरिकको आशाा थियो । पुराना राजनीतिक शक्तिहरुले गल्ती नसच्याएपछि रास्वपालाई विकल्पका रुपमा मतदाताले हेरेको बुझ्न गाह्रो पर्दैन । 

तर विकल्पका रुपमा हेरिएको रास्वपाले अहिले जे गरिरहेको छ, त्यसले आमनागरिकमा रहेको नयाँ शक्तिप्रतिको विश्वासमै घात भइरहेको छ । पार्टी सभापतिका निम्ति विधिको शासन र न्यायिक प्रणालीकै ध्वज्जी उडाउनेगरी प्रदर्शन गर्दा सहकारी पीडितका निम्ति रास्वपा लड्छ भन्ने विश्वास कमजोर भइरहेको छ । तर अहिलेसम्म पनि रास्वपामा व्यक्ति, संस्था र जनतामा रहेको विश्वासलाई चिन्ने सामथ्र्य देखिदैन । रास्वपाकै अपिल बमोजिम प्रदर्शन बढ्ने हो अराजकताको शासन स्थापित हुनेछ । सर्वसाधरण नागरिकको पक्षमा कोही नरहेको बुझाइले देश छोड्ने प्रवृत्तिमा परिवर्तन आउने छैन । नागरिकमा निराशा बढेर जाने, विधिको शासनप्रति विश्वास कमजोर बनाउने र न्याय सम्पादनमै बितृष्णा जगाउने कार्यलाई प्रोत्साहन गर्ने हो भने समाजको थिति भत्किएर जानेछ । तसर्थ अहिले रास्वपाले चलाइरहेको प्रदर्शनलाई हेलचेक्र्याइ गरिनु हुन्न । गम्भीर भएर निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise