–सुरेश भट्ट ‘आश्रिन’
मेरो पितालाई मैले भौतिक रूपमा ‘बा’ भनेर बोलाउन नपाएको आज ४५ दिन भयो । आज बा’को ४५औँ दिनको पुण्य तिथि ।
०८१ साल भाद्र ३० गतेका दिन देवघाटमा अन्तिम दाहसंस्कार गर्दाका समयमा बालुवामाथि बसेर मैले बाको जलिरहेको चितालाई हेर्दै उहाँको विगतलाई निकै स्मरण गरेको थिएँ । चिकित्सा विज्ञानअनुसार बामा क्यान्सर देखियो । बायोप्सी रिपोर्टले त्यो अर्बुद रोगलाई तेस्रो अन्तिम तहको भन्ने निर्क्योल ग¥यो । त्यही प्राणघातक रोग क्यान्सरका कारण मैले मेरा बालाई ५८ वर्षको उमेरमा अन्तिम बिदाइ गर्नुपर्छ भन्ने कल्पना पनि गरेको थिइन् । कुनै पनि छोराहरूले बाउको मृत्युको कल्पना कसरी गर्न सक्छ र ? तर, म त्यही अकल्पनीय घटनाको साक्षी बन्न पुगेँ । मृत्यु शाश्वत सत्य हो भन्ने कुरा प्रारम्भिक ज्ञानबाट सबैले बुझेकै छ । तर, मृत्यु कसरी हुन्छ भन्ने कोही कसैले बुझेको हुँदैन । मृत्युको रूप कस्तो हुन्छ भनेर बुझ्न जलिरहेको चितामा आफूलाई देख्न सके मात्र मृत्युको भय बुझ्न सकिन्छ ।
हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ, त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरूलाई गरिन्छ । तर, देवता भनेका पनि पितृ नै हुन् अर्थात् हाम्रो समाजले देवता मान्दै आएका शिव, राम, कृष्ण, विष्णु, बुद्ध, पार्वती, भगवती आदिहरू पनि मानिस भएरै जन्मेका हुन् । सबै भगवानहरू मानवकै रूपमा जिएको पाइन्छ अर्थात् हामीले भगवान् मान्दै आएकाहरू सबै दिवङ्गत मानिस नै हुन् भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले भगवान् र पितृहरूलाई एउटै स्थानमा राखेर मातृ पितृ देवो भवः भनिन्छ ।
आज बालाई सपनामा देखेको थिएँ । सपनामा देख्दै गरेको बालाई भेट्न पाएर सपनामा नै कति खुसी र हर्षित भएको थिएँ भन्ने कुरा खुसीको आँसुले भिजेको सिरानीले बिहान बताउँदै थियो मलाई । यस्तो लाग्दथ्यो मेरो आयु थपेर बालाई दिन सकेको भए आज बा ९२ वर्षको हुनुहुन्थ्यो । तर, नियतिले बालाई लिएर सम्झना मात्र छोडेर गयो । बासँगको धमिलो सम्झनाहरूलाई उहाँसँगै हुर्केका उहाँको पुस्ताको साथीहरूसँग हुने भेटले बाको यादहरू आँसु बनेर आँखाबाट बर्सिदिन्छ । बासँगैको केही साथीहरू हुनुहुन्छ गाउँमा । अझै धेरै लामो जिन्दगी र दीर्घायुको लागि उहाँहरूलाई धेरै शुभेच्छा छ मेरो । उहाँहरूले कहिलेकाहीँ हुने भेटमा भन्ने गर्नुहुन्छ ‘यसको बोलीचाली, आनीबानी र व्यवहार त ठ्याक्कै काटिकुटी बाउ चाहिँको जस्तो ।’ यस्तो सुन्दा मलाई उहाँको छोरा हुनुमा गर्व लाग्छ । कतिपय छोराहरू हुन्छन्, जो बा–आमाप्रति गर्व गर्न सक्दैनन् ।
वि.सं. २०५७/५८ साल नेपाली इतिहासमा एउटा चर्चित साल हो । जुन साल देशमा राजनीतिकरूपले पुरै ध्वस्त थियो । देश गृहयुद्धमा फसेको थियो । त्यही साल भाद्र महिनाको अन्त्य तिर तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले जलकन्या माध्यमिक विद्यालयबाट अपहरण गरी लागेका थिए, मेरो बालाई जङ्गलै–जङ्गल लेकतिर । अनेकन् यातना र प्रतारणा दिएपछि सोधिएछ, “तँ हाम्रो सुराकी होस् ? तँ नेपाली काङ्ग्रेस होस् ? तँ हाम्राविरुद्ध किन बोल्छस् ?” वर्तमान राजनीतिमा आज पनि माओवादीले काङ्ग्रेस, एमालेले रास्वपा र अन्य दलले अरू पार्टीमाथि यस्तै सङ्गिन आरोपहरू लगाउँदै नेपाली राजनीति चलिरहेकै छ । यस्तै, आदि प्रश्न गरेपछि बाले भन्नुभएछ हो, “म काङ्ग्रेस हो, अरू केही होइन ।” दिनहुँको केरकार गरिसकेपछि छैटौँ दिनमा बा घर फर्किनुभयो । बाको बैरगमन पछि, परिवारमा निक्कै खुसी छायो । हाम्रो परिवारले खुसीले दसैँ, तिहार मानेको सम्भवतः त्यही समय थियो ।
बा ! सामाजिक असमानताका अनेकन रूपहरू पढेर बस्दथे । समाजभित्रका कुरीति र विसंगतिका पर्खालहरू भत्काउन आफूलाई जुनसुकै हिसाबले पनि अरूको नजरमा तयार भएर बस्नुपर्छ भन्ने मान्यता राख्दथे । मलाई लाग्दथ्यो बा नेता बन्नेछन्, बाहरू हुन्छन् नै नेता । निडर, निस्कलंकित, निर्भीक र साहसिलो । मैले नेता भन्ने शब्दको ओज र गरिमा नबुझ्दै, बा नेता बन्नपर्छ भन्ने लाग्यो । मैले बाको हरेक सुख दुःखमा साथ दिएँ । पछि गएर बा ठुलो नेता त बन्नु भएन, स्थानीय र जिल्ला स्तरसम्मको नेता भने बन्नुभयो ।
मेरो जीवनमा मैले गरेका कर्मको परिणाम पनि सापेक्षित नै आउने भए । मलाई जे सत्य लाग्यो मैले त्यही गरेँ, आज आएर मलाई ऊ बेलाका बा प्रतिका मेरा निर्णयहरूप्रति थोरै पनि ग्लानि, अलिकता पनि पश्चात्ताप छैन । मैले बाको राजनीतिक जीवनदेखि अस्पतालको शय्या हुँदै मृत्यु चितासम्म जे–जति गरेँ त्यो मेरा लागि अहोभाग्य हो । मैले बाको लागि यत्ति भने पनि छोरा भएर गर्न पाएँ । हाम्रो समाज पितृसत्तात्मक समाज देखिए पनि बाको कर्मयोग भन्दा आमाको ममतालाई व्यवहार र शब्दमा बढी उधिनिएको छ । बाहरूले आफ्ना छोराछोरी टपक्क टिपेर प्रेमले छातीमा टाँस्ने, आफू घोडा बनेर छोराछोरीलाई घोडसवार गराउने र काँधमा बोकेर हिँड्ने कुरालाई आफ्नो जीवनको तीन दशक काटिसकेको मजस्तो छोराको लागि यति मात्र पर्याप्त हुँदैन, बाको संस्मरण गर्न ।
आफ्ना दिवङ्गत माता पिताहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्ध हो । आज म बाको ४५औँ दिनको श्राद्ध गर्दै छु । तर, मैले कुनै पुरोहित र कर्मकाण्ड नगरी बाको सम्झनामा चित्त शुद्ध गरिबसेको छु । हरेक छोराछोरीहरूले उहाँहरू जीवित छँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिए पनि जसले मातापितालाई बाँचुन्जेल कष्ट दिएर सताउने काम गरे उनीहरूले मृत्युपछि श्राद्ध गरेर श्रद्धाञ्जली व्यक्त गर्नु पाप हो ।