खुदी, लमजुङ : स्थानीय कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो मर्स्याङ्दी महोत्सव हुने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा यहि कार्तिक २७ गतेदेखि आगामी मंसिर १ गतेसम्म विविध कार्यक्रमका साथ मर्स्याङ्दी महोत्सव सञ्चालन हुने भएको हो ।
आयोजक मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बिहीबार सो गाउँपालिका वडा नं. ३ खुदीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै सो जानकारी दिएका हुन् । पाँच वर्षपछि दोस्रो पटक महोत्सव आयोजन गर्न लागिएको र गाउँपालिकाको विभिन्न स्थानमा विविध कार्यक्रम गरी महोत्वस सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
“महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण समेत गरिनेछ”, पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले भने, “स्थानीयले महोत्सवबाट लाभ लिन सक्ने र साथै पर्यटन प्रवर्द्वन गरी ग्रामिण नागरिकको जनवीवन उकास्ने हाम्रो प्रयास हो ।”
अध्यक्ष गुरुङका अनुसार महोत्सवको पहिलो र दोस्रो दिन गाउँपालिकाको वडा नं. ३ र ९ को संगमस्थल खुदी बेनीमा धार्मिक मेला (हरिबोधनी एकादशी मेला) आयोजना गरिने छ । त्यस्तै सो दुई दिन फुलको डोरी तार्ने, साँस्कृतिक कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगिता, दन्त शिविर, वडा नं. ३ खुदीस्थित राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल पार्क र वडा न. ७ को ताङलीचोकस्थित डा. हर्क गुरुङ समाधिस्थल पार्क अवलोकन, ठेलो प्रतियोगिता कार्यक्रम रहेको छ । कात्तिक २९ गते वडा नं. ४ जगतमा तातोपानी महोत्सव आयोजना हुने भएको छ ।
सो दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृति प्रदर्शनी, स्थानीय उत्पादनहरुको बिक्री वितरण तथा प्रदर्शनी हुने भएको छ । कात्तिक ३० गते वडा नं. २ घनपोखरा, वडा नं. ४ मिप्रा, वडा नं. ५ घेर्मु र वडा नं. ६ बाहुनडाँडा क्षेत्रका भीरहरुमा मह सिकार महोत्सव हुने गाउँपालिकाले जनाएको छ । महोत्सवको अन्तिम दिन मंसिर १ गते बुङ झरना, स्याँगे झरना र अक्टोपस झरना महोत्सव हुनेछ । महोत्सव अवधिभर होमस्टे प्याकेज विक्री तथा प्रचारप्रसार गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।