२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विपद्‍बाट जोगिन टोकियोमा विदेशीलक्षित पूर्वाभ्यास कार्यक्रम हुँदै

ADV
मध्यान्ह
२०८१ जेठ १८ गते १६:३१
विपद्‍बाट जोगिन टोकियोमा विदेशीलक्षित पूर्वाभ्यास कार्यक्रम हुँदै

टोकियो : भूकम्प गइरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्दबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविद्हरुको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ । 

त्यसैका लागि वर्षोनी ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरुमार्फत त्यससम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरुलाई लक्षित गरी प्राकृतिक प्रकोपजन्य घटनाबाट कसरी बच्न सकिन्छ र यसबाट हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले डिजास्टर एक्स्पेरिमेन्ट इभेन्टका रुपमा एक सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम आगामी जुन २३ तारिक आइतबार हुने बताइएको छ । नेपाली र भियतनामी भाषाका सहकजकर्ताको सुविधासमेत रहेको सो कार्यक्रम बिहानी र अपराह्न गरी दुई सत्रमा विभाजन गरिएको छ । बिहानीको सत्र १०:५५ बजेदेखि १२:१५ बजेसम्म हुनेछ भने अपराह्नको सत्र १४:४५ देखि १६:०५ बजेसम्म हुने बताइएको छ । बिहानीको सत्रका लागि रिसेप्शन १०:३० बजेबाट खुला हुने छ भने अपराह्नको सत्रका लागि १४:२० बजेबाट खुला हुने जनाइएको छ ।   

होन्जो बोसाइखान-४-६-६ योकोगवा, सुमिदा-कु, टोकियो १३-०००३ मा हुन गइरहेको उक्त कार्यक्रमममा भाग लिनका लागि आगामी जुन १६ तारिक आइतबारसम्ममा अनिवार्य आफ्नो नाम दर्ता गराउनुपर्ने छ ।

विज्ञहरुका अनुसार टोकियो आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाइ निकट भविष्यमै ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको छ । त्यसप्रकारका प्रकोपबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँदै जतिसक्दो क्षति कम गर्नेबारे व्यवहारिकरुपमै सिकाउने उद्देश्यले विदेशीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त निःशुल्क कार्यक्रममा सहभागी हुन टोकियो महानगरीय सरकारले सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा भूकम्पको धक्काको महसुस गराइनुका साथै, भूकम्पपश्चात हुने सम्भावित आगलागीबाट बच्न, बचाउन, आगो निभाउन वा धुँवाको मुस्लो छल्दै भाग्न सिकाइने छ । यसैगरी भूकम्पपश्चात सम्भावित सुनामी वा बाढीबाट ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न पनि सिकाइने छ । 

एक सत्रमा जम्मा २० जना सहभागीले भाग लिन सक्ने सो कार्यक्रममा सहभागीहरुलाई आयोजक महानगरपालिकाले उपहार पनि दिने बताइएको छ । सहभागीहरुको संख्या क्षमताभन्दा बढी भएमा गोलाप्रथाबाट सहभागी छनोट गरिने बताइएको छ । टोकियो महानगरीय क्षेत्रमा ५ लाख ८० हजार विदेशीहरु रहेको र उनीहरुप्रति लक्षित यस प्रकारका सचेतनामूलक कार्यक्रम नियमित गर्ने योजना रहेको आयोजकको भनाइ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise