२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कतारमा मनाइयो गणतन्त्र दिवस

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ १८ गते १७:३६
कतारमा मनाइयो गणतन्त्र दिवस

दोहा, कतार : कतारमा रहेका विभिन्न पाँच राजनीतिक दलका भ्रातृ संगठनको आयोजनामा १७औं गणतन्त्र दिवस मनाइएको छ । प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च, गैरआवासीय मधेश संघ, नेपाली जनप्रगतिशील मोर्चा र संघीय लिम्बुवान सामाजिक मञ्च कतारले संयुक्तरूपमा एक कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएका हुन् ।

शुक्रबार बिहान आठ बजेको समय निर्धारण गरिए पनि करिब डेढ घण्टा ढिलो दूतावासको सभा हलमा नियोगका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता तथा प्रवासी नेपाली मञ्च कतारका सातौं महाधिवेशन संयोजक अफसर अलि खानको सभाध्यक्षतामा कार्यक्रम शुरु भएको थियो । दीप प्रज्वलन, ब्यानर अनावरण, राष्ट्रिय गान र व्यवस्था परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिने ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । 

कार्यक्रममा बोल्ने क्रममा प्रवासी नेपाली एकता समाज (पानस) कतारका अध्यक्ष तिलक श्रेष्ठले आफ्नो संगठनलाई राजतन्त्रसँग आस्थावान राख्ने नजिरले आयोजकका रूपमा नसमेटेकोमा दु:ख व्यक्त गरे । श्रेष्ठले आफू सामाजिक प्राणी भएको र समाजमै बस्ने हुँदा समाजमा मिल्न खोज्दा पनि नसमेटेको भन्दै सबैको अन्तिम गन्तव्य आर्यघाट रहेको स्मरण गर्न अनुरोध गरे ।

गणतन्त्र प्राप्तिका लागि गरिएका संघर्ष र उपलब्धिका बारेमा चर्चा गर्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले दिवस सोही दिन मनाउन सकिने अवस्थामा पनि मनाउन नसकेकोमा दु:ख व्यक्त गरे । नेपाली दूतावासमा एनसीसीले समन्वय गरेर मनाउने प्रस्ताव पनि विविध कारणले सफल हुन नसकेको उनले बताए । 

मन्तव्यकै क्रममा वक्ताहरूले राजनीतिक पद्धतिमा गणतन्त्र नै उत्कृष्ट रहेको बताउँदै गणतन्त्र स्थापनाका लागि गरिएको योगदान र मर्मअनुसार नै देशले गति लिइरहेको बताए । जहाँ नेपाली त्यहाँ गणतन्त्र दिवस मनाउने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्ने वक्ताहरूको भनाइ थियो ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले दूतावासले गणतन्त्र दिवस मनाउनका लागि हल उपलब्ध गराउन आनाकानी गरेको आक्षेपप्रति लक्षित गर्दै दूतावास सदैव समाजसँग मिलेर अगाडि बढ्न चाहेको बताए । 

संघीय लिम्बुवान सामाजिक मञ्च कतारकी अध्यक्ष रेखा राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटाले सहजीकरण गरेका थिए । गणतन्त्रका संवाहक हौं भन्ने राजनितिक दलका भ्रातृ संगठन आयोजकमा नरहँदा कस्तो लोकतन्त्र तथा गणतन्त्रको अभ्यास गरेका रहेछन् भनेर पोडीयमबाट देवकोटाले प्रश्नसमेत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष खानले सबै वैचारिक संगठन एकै ठाउँमा बसेर गणतन्त्र दिवस मनाउने प्रयास असफल भए पनि अर्को पटक सफल हुने विश्वास व्यक्त गरे । झण्डै ५०९ ईसापूर्वदेखि गणतन्त्रको अभ्यास हुँदै गर्दा नेपालमा गणतन्त्र टिनेजमा प्रवेश गरेको उनले बताए । गणतन्त्र एक दिनको दिवस नरहेको उनको धारणा थियो । 

उक्त कार्यक्रममा कतारमा स्थापित व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार, विभिन्न ओहोदाका व्यक्तिहरूलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise