काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट शुरू हुने लगभग निश्चित भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली डिसेम्बर २ देखि ६ अर्थात आगामी मंसिर १७ देखि २१ गतेसम्म औपचारिक भ्रमणका लागि चीन जाने तय भएको छ । तर औपचारिक घोषणा हुन बाँकी छ ।
यसबीचमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको प्रयास समेत जारी छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमणको प्रयास जारी राखेका छन् । चीन भन्दा पहिले भारत गएर विश्वास बढाउने प्रधानमन्त्री ओलीको चाहना अझै रहेको उनी निकटस्थहरू बताउँछन् ।
भारतले भने भ्रमणको निम्तो नदिएर प्रधानमन्त्री ओलीमाथिको दबाब कायमै राखेको छ । भारतको दबाबका बाबजुत प्रधानमन्त्री ओलीले चीन भ्रमणको समय तय गरेर तयारी अगाडि बढाएका छन् । बुधबार मात्रै नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीको जिम्मेवारी परराष्ट्रमन्त्री डा.आरजु राणालाई दिएका छन् ।
चीनबाट भ्रमणका लागि मितिबारे जानकारी आएसँगै प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणा देउवालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका थिए । प्रमुख दुई सत्ताघटक दलले उनै राणालाई भ्रमणको तयारी गर्ने जिम्मेवारी नै दिएका छन् ।
चीन भ्रमणकै तयारीका निम्ति परराष्ट्र मन्त्री राणाले अजरबैजानको बाकुमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २९ मा सहभागी हुन जाने कार्यक्रम स्थगित गरेकी छिन् । यही कात्तिक २५ गते राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल बाकु जाँदैछ ।
परराष्ट्र मन्त्री राणा पनि सँगै बाकु जाने तयारीमा थिइन् । तर प्रधामन्त्री ओलीले चीन भ्रमणको तयारी गर्नुपर्ने भनेपछि बाकु भ्रमण स्थगित गरिएको हो । त्यसपछि बाकु जाने कार्यक्रम स्थगित गरेर परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको चीन भम्रणको तयारीमा लागेकी छन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर पत्र लेख्दै आगामी डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिइसकेका छन् । तर यसको औपचारिक घोषणा भने दुवै देशले गरिसकेका छैनन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो । उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए ।
तथापि, परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि कोसिस गरिरहेको उनी निकटतस्थहरू बताउँछन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि अमेरिकामा भेट भएको थियो । त्यसबेला प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । तर, भारतीय पक्षले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएन ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार ढालेर एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भारत र चीन दुवै देशको भ्रमण गरेका छैनन् ।