२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

हेटौंडा-१२ मा उपनिर्वाचनको सरगर्मी : सबै दलको आ-आफ्नै रणनीति

ADV
राजकुमार के.सी.
२०८१ कार्तिक २७ गते १८:३४
हेटौंडा-१२ मा उपनिर्वाचनको सरगर्मी : सबै दलको आ-आफ्नै रणनीति

मकवानपुर : सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । 

विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ भने मंसिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगले निर्वाचन मिति र कार्यतालिका सार्वजनिक गरेसँगै मकवानपुर जिल्लाको उपनिर्वाचन हुने एकमात्र स्थान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ चर्चामा रहेको छ । उपमहानगरपालिकाको यस वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितबहादुर घलान विजयी भएका थिए । वडाध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । 

मकवानपुर जिल्लामा यही वडामा मात्र निर्वाचन हुने भएकाले स्थानीय दलहरु कसरी विजय हासिल गर्ने भन्ने रणनीति र उम्मेद्वार छनोटमा लागेका छन् । माओवादी केन्द्रलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा एमाले र नेपाली कांग्रेसलाई नयाँ वडा थप्ने आकांक्षा रहेको छ । अन्य दलहरु पनि निर्वाचनको तयारीमा जुटिरहेका छन् । जसले गर्दा मकवानपुरमा उपनिर्वाचन रोचक हुने देखिन्छ । अहिले माओवादी, एमाले र कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

माओवादी केन्द्रले रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । युवालाई नेतृत्वमा अगाडि बढाउनका लागि प्रधानलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको माओवादीले बताएको छ । 

यस्तै एमालेले राजेश नगरकोटीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसम्मत उम्मेदवार छनोट भएका हुन् । गत निर्वाचनमा नगरकोटीले तेस्रो स्थान हासिल गरेका थिए । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मकवानपुरका अध्यक्षसमेत रहेका नगरकोटीलाई विजयी बनाउन एमाले केन्द्रित छ ।

कांग्रेसले पनि गत निर्वाचनकै उम्मेदवार अर्जुन तिवारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै राप्रपाले प्रेम ब्लोन र रास्वपाले आश्विर बललाई वडाध्यक्षको उम्मेदवार चयन गरेको छ । 

हेटौंडा-१२ मा माओवादीका प्रधान, एमालेका नगरकोटी र कांग्रेसका तिवारीबीच नै मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यो उपनिर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो राजनैतिक अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । हालसम्म उपनिर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य गर्ने कुनै तयारी भएको पाइएको छैन ।

गत निर्वाचनमा कसले कति मत पाए ?

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र, कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा भएको थियो । गत चुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलान १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।

गत निर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक थिएन । विजयी भएका माओवादीका घलान र दोस्रो भएका कांग्रेसका तिवारीबीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटीबीच ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।

दलहरुको तयारी

माओवादी केन्द्र हेटौंडा–१२ को वडाध्यक्ष पदका निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य बीरबहादुर घलान ‘ज्वाला’को नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिएको छ । माओवादी वडाको २७ वटै टोलमा मतदाता भेटघाट र प्रचारप्रसारमा केन्द्रित रहेको छ । 

जिल्ला तहबाट वडाको विकासका लागि थप योजना र कार्यक्रम ल्याउन सकिने भएकाले पार्टीको अनुरोधमा वडाध्यक्ष पदबाट राजीनामा दिएर जिल्ला समन्वय समितिको प्रमुख भएको घलानले बताए । पद रिक्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएता पनि निर्वाचन आयोगले मिति तय नगर्दा लामो समय वडाध्यक्ष पद खाली भएको घलानले बताए । 

त्यस्तै एमाले पनि हेटौंडा–१२ को वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई विजयी बनाउन केन्द्रित भएको छ । एमाले आफ्नो पुरानो शाख फर्काउनका लागि आन्तरिक तयारीका साथ जुटेको एमाले मकवानपुरका प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईंले बताए । उनले हेटौंडा–१२ मा टोल भेला, कार्यालय स्थापना तथा मतदाता भेटघाटको कार्यलाई अगाडि बढाइएको बताए । 

कांग्रेसले गत निर्वाचनमा थोरै मतले पराजित हुनु परेकाले यो पटक विशेष योजनाका साथ उपनिर्वाचनको तयारी गरिएको प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले बताए । उनले यसपटक वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुने दाबी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise