२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

सुर्मा गाउँपालिका–४ को उपनिर्वाचनमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

ADV
सत्यराज सिंह
२०८१ मंसिर २ गते १०:२२
सुर्मा गाउँपालिका–४ को उपनिर्वाचनमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

बझाङ : बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा उपनिर्वाचन हुँदैछ । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट सुर्मा गाउँपालिका–४ का वडा अध्यक्षमा निर्वाचित सर्जन बोहराको निधन भएपछी रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

आगामी १६ मंसिरमा बझाङको यही वडामा मात्र निर्वाचन हुँदैछ । वडाध्यक्षको निर्वाचनमा मुख्यतः दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाउँछ । दुई वटै दलले उम्मेदवारसमेत टुंग्याएका छन् । 

कांग्रेसले धिरेन्द्र पुजारालाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बझाङले जानकारी दिएको छ । कांग्रेसको वडा समितिबाट पुजाराको नाम एकल सिफारिस भएर जिल्लामा गएको थियो । 

एमालेले नेकपा एमाले सुर्मा गाउँपालिका कमिटी सदस्यसमेत रहेका लखीचन्द्र बोहरालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेको वडा कमिटीबाट दुई जनाको नाम सिफारिस भएर जिल्लामा गएको थियो । वडाबाट लखीचन्द्र बोहरा र दुर्गानाथ पुजाराको नाम जिल्लामा सिफारिस भएको थियो । दुई जनाबीच सहमतिमै उम्मेदवारको टुंगो लगाइएको नेकपा एमाले जिल्ला कमिटी बझाङका सचिव आनन्दलाल विस्वकर्माले बताए ।

माओवादी केन्द्र, राप्रपा र नेकपा एसले पनि वडा अध्यक्षको उम्मेदवार चयनमा लागेका छन् । यो निर्वाचनले बझाङमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । एमालेलाई गुमेको वडा अध्यक्ष फिर्ता गर्ने चुनौती छ । कांग्रेसलाई नयाँ वडामा विजयको झण्डा गाड्ने चुनौती रहेको छ । 

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सर्जन बोहराले ६ सय २९ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका लोक बहादुर बोहराले ६ सय ४ मत पाएका थिए । गतनिर्वाचनमा दुई दलका उम्मेदवार बीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका एमालेका सर्जन बोहरा र दोस्रो भएका कांग्रेसका लोक बहादुर बोहरा बीच २५ मतको मात्र फरक थियो ।  बोहरा र पुजारा अहिले वडामा चुनावी अभियानमा जुटिसकेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise