रौतहट : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रौतहटमा आइतबार उत्साहजनकरूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८, राजपुर नगरपालिका वडा नम्बर ६ र इशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत तीन वटै वडामा आइतबार विभिन्न दलका नेता तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये राजनीतिक दलको तर्फबाट ७ जनाको उम्मेदवारी परेको छ भने ९ जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बरियारपुरले जनाएको छ ।
गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट सुबोध कुमार यादव, नेकपा एमालेबाट जीउतीदेवी यादव, नेकपा एकीकृत समाजवादी पार्टीबाट बजरंगीप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालबाट सन्देशप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबालक साह र राष्ट्रिय मातृभूमि पार्टीबाट साहेबलाल राउतले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी अनिल कुमार यादव, चन्द्रिका प्रसाद यादव, दिनेश राय यादव, नरेन्द्र ठाकुर, रामविधार्थ प्रसाद जयसवाल, राम विशवास राय यादव, रामसिंह राय यादव र श्रीश्याम प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राजपुर नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट समसे आलम र इशनाथ नगरपालिका–७ को वडाध्यक्षमा शेख अब्दुल खलीकले आफ्ना उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।