२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आईसीसी वरीयतामा दीपेन्द्रको फड्को : अलराउण्डरतर्फ छैटौं स्थानमा, हार्दिकलाई उछिने

ADV
मध्यान्ह
२०८१ असार ५ गते १५:०४
आईसीसी वरीयतामा दीपेन्द्रको फड्को : अलराउण्डरतर्फ छैटौं स्थानमा, हार्दिकलाई उछिने

काठमाडौं : आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ ।

यसअघिको वरीयतामा नवौं स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैटौं स्थानमा उक्लिएका छन् ।

 उनले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन् । उनी क्रिकेटका कुनै पनि वरीयतामा टप टेनभित्र पर्ने नेपालका एक मात्र खेलाडी हुन् ।

दीपेन्द्रभन्दा अगाडि पाँचौं स्थानमा जिम्बावेका सिकन्दर राजा, चौथोमा अफगानिस्तानका मोहम्मद नाबी, तेस्रोमा बंगलादेशका शकिब अल हसन, दोस्रोमा श्रीलंकाका वानिन्डु हसरंगा रहेका छन् भने अस्ट्रेलियका मार्कस स्टोइनिस अलराउन्डरतर्फ पहिलो स्थानमा छन् ।

विश्वकपमा समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३.३ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिएर २ विकेट लिएका थिए भने ३१ बलमा २५ रन बटुलेका थिए । त्यसअघि अफगानिस्तानविरुद्ध ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यो खेलमा उनले ६ रन मात्रै जोडे । नेदरल्यान्ड्सविरुद्ध १ रनमै आउट भएका उनले २ ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए ।

नयाँ वरीयताअनुसार टी-२० अलराउन्डरतर्फ नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले ठूलो छलाङ मारेका छन् । पहिलोपटक टप सयभित्र परेका उनी ४३औं स्थानको सुधार गरी ७०औं स्थानमा आएका छन् ।

अलराउन्डरतर्फ कप्तान रोहित पौडेल ११ स्थान सुधार गरी ५५ औं स्थानमा आएका छन् । कुशल मल्ल १ स्थान खस्किएर ३६औं, करण केसी ६ स्थान खस्किएर ७५औं र गुल्सन झा पनि ६ स्थान खस्किएर ६८औं स्थानमा झरेका छन् । 

ब्याटिङतर्फ ओपनर आसिफ शेख २० स्थानको सुधार गरी ६९औं स्थानमा आएका छन् । यस्तै ब्याटिङतर्फ दीपेन्द्र ५ स्थान सुधार गरी ४५औं स्थानमा आएका छन् । कप्तान रोहित भने ६ स्थान खस्किएर ६१औं स्थानमा झरेका छन् ।

बलिङतर्फ सोमपाल कामी ८ स्थान सुधार गरी ९१औं स्थानमा आएका छन् भने दीपेन्द्र २७ स्थानको सुधार गरी ९६औं स्थानमा आएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise