२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

त्रिपुरासुन्दरी नगरपालिकाले ल्यायो नीति तथा कार्यक्रम

ADV
पुर्ण कुमार
२०८१ असार ५ गते १९:३१
त्रिपुरासुन्दरी नगरपालिकाले ल्यायो नीति तथा कार्यक्रम

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकाको ११औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख जनचन्द्र रोकायले शिक्षा, स्वास्थ्य, कृषि र सडक विकासलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।

‘सचेत नागरिकमार्फत दिगो पूर्वाधार, स्वच्छ, सरसफाइ, सुशासनसहित समृद्ध नगर निर्माणको आधार’ भन्ने मूल नाराका साथ संविधानको कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा शिक्षा, युवा तथा खेलकुदलाई पहिलो प्राथमिकतामा राखिएको छ । जसमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई सूचनामैत्री बनाउनुका साथै अनलाइन र अफलाइन पुस्तकालयको सिकाइमा गुणस्तर अभिवृद्धि गर्ने नीति अवलम्बन गरिएको छ । 

स्वास्थ्यतर्फ न्यून आयस्रोत भएका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी भएबापत पोषण कोशेली कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै त्रिपुराकोट स्वास्थ्य चौकीलाई नमुना स्वास्थ्य चौकी बनाउनुका साथै सुविधा सम्पन्नयुक्त बर्थिङ सेन्टरका लागि आवश्यक पहल गरिने पनि कार्यक्रममा समेटिएको छ ।

त्यस्तै पर्यटन विकासतर्फ ऐतिहासिक सांस्कृतिक तथा प्राकृतिक स्थलको रूपमा परिचित डोल्पा जिल्लाकै पवित्र धार्मिक पीठ बाला त्रिपुरासुन्दरी मन्दिर, छल बुडाल मष्टा, गल्लीको भवानी मष्ट, विक्रम शाही महाराजको दरबार र रल्ली राजारानी जस्ता पुरातात्विक क्षेत्रको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख गरिएको छ । 

नगरपालिकामा भवन निर्माणसम्बन्धी आवश्यक कार्यविधि कार्यान्वयनमा ल्याइने छ । उद्यमशीलता विकासतर्फ औद्योगिक ग्रामको स्थापना गरी स्थानीय रोजगारीमा वृद्धि गर्ने नीति समेटिएको छ । 

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाय र कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख रोकायाले संयुक्तरूपमा गरेका थिए ।

नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्दै जिल्ला समन्वय समिति प्रमुख रोकायले नीति तथा कार्यक्रम ल्याउँदा लक्ष्यसहितको ल्याउनुपर्ने र आन्तरिक आय र स्रोत बढाउन स्थानीय नागरिकको जीवनस्तर माथि उकास्न आवश्यक रहेको बताए ।

नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले प्रस्तुत नीति तथा कार्यक्रम हेर्दा राम्रो देखिएता पनि प्रष्टता नभएको उल्लेख गर्दै नीति तथा कार्यक्रम अल्पकालीन र दीर्घकालीन रूपमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीले नीति तथा कार्यक्रम सकभर स्थानीयको माग र आवश्यकताको आधारमा प्राप्त सुझावलाई समेटेर ल्याइएको बताइन् ।

सो अवसरमा नगरपालिकाले सेवा निवृत्त कर्मचारी, सेवा प्रवाहमा उत्कृष्ट कर्मचारी र मावि र आधारभूत विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई सम्मान पत्रसहित खादा र अबिर लगाएर सम्मान गरेको थियो ।

कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकाय, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पूर्व तथा वर्तमान नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise