२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

बीआरआई : कांग्रेस प्रस्ट, छलफलमै एमाले

ADV
मुकुन्द लामिछाने
२०८१ मंसिर ८ गते ०६:४५
बीआरआई : कांग्रेस प्रस्ट, छलफलमै एमाले

काठमाडौं : चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन गर्ने विषमा प्रमुख २ सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक छलफलमा छन् । दुवै दलका नेताहरूका अनुसार निरन्तर छलफल चलिरहेको छ तर ठोस निचोड निस्कन बाँकी छ । 

कांग्रेस नेताहरू शुक्रबार आन्तरिक छलफलमा बसेका थिए । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा कांग्रेसका नेताहरू अर्थविद् र परराष्ट्र जानकारसँगको छलफल गरेका हुन् ।

छलफलमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, डा. प्रकाशशरण महत, उदयशम्शेर राणा, चिनकाजी श्रेष्ठलगायत थिए । नेताहरू विश्व पौडेल, चिरञ्जीवी नेपाल, डा. गोविन्दराज पोखरेल, विनोद चौधरी, चन्द्र ढकाल, राजेश अग्रवाल, दीपक मल्होत्रा सहभागी थिए । कांग्रेसका नेताहरू कृष्ण सिटौला, श्यामकुमार घिमिरे, कृष्ण रोकाया आदि थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईअन्तर्गतका परियोजना अनुदानमा मात्र लिने कि ऋणमा समेत लिनेगरी कार्यान्वयन सम्झौता गर्ने भन्ने विषयमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा फरक मत रहँदै आएको छ । 

नेताहरूका अनुसार कांग्रेसले अनुदानमा मात्र परियोजना लिन सकिनेमा प्रस्ट छ । एमालेले सहुलितपूर्ण ऋण लिनेगरी सम्झौता गर्नुपर्ने पक्षमा छ । कांग्रेसको अडानका कारण एमाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईबारे के गर्ने भन्ने छलफलमै छ । 

एमाले महासचिव शंकर पोखरेल छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताउँछन् । शुक्रबार सामाजिक संजाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूवाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?’ 

एमाले महासचिव पोखरेलले चीनसँगको व्यापार र पारवहन सम्झौताको पनि बचाउ गरेका छन् । उनले लेखेका छन्, ‘नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चीनसंग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?’ 

नेपाल कांग्रेसका नेता विमलेन्द्र निधि आफ्नो पार्टी चीनबाट बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्र लिने नीतिमा प्रस्ट रहेको बताउँछन् । 

राष्ट्रिय स्तरमा छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने उनको मत छ । शुक्रबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै निधिले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रूपमा छलफल गरेर मात्र हस्ताक्षर गर्नुपर्ने बताएका हुन् ।

उनी भन्छन्, ‘कांग्रेसको सुरुदेखि नै आधिकारिक विषय छ– चीनबाट हामीले बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्र लिन्छौं । लोनमा हामी जाँदैनौं ।’ 

उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई चीन जाँदा अनुदानबाहेक लोनमा सही नगर्ने भनिसकेका छन् । ‘म त भन्छु– बीआरआई प्रोजेक्ट नेपालको हितमा छ कि छैन ? बीआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise