
नेपालगन्ज : लुम्बिनी प्रदेशका अर्थमन्त्री इन्द्रजीत थारु, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा विकास निर्माण तथा सेवा प्रवाहमा समस्या भइरहेको बताएका छन् ।
नेपालगन्ज कनक्लेभको तेस्रो सत्र ‘तीन तहका सरकार : कति सहज, कति अप्ठेरो ?’ विषयक छलफलमा सहभागी उनीहरूले तीनै तहका सरकारबीच योजना निर्माण र कार्यान्वयनमा समन्वयको अभाव रहेको औँल्याएका हुन् ।
छलफलका क्रममा उनीहरूले संघीय सरकारको योजनाअन्तर्गत निर्माण भएका सडक तथा पूर्वाधारमा समस्या आउँदा त्यसको दोष प्रदेश र स्थानीय सरकारले खेप्नुपरेको गुनासो गरे । योजना बनाउँदा र कार्यान्वयन गर्दा स्थानीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय नहुने तर समस्या आएपछि भने तल्ला तहका सरकारले आलोचना सहनुपर्ने उनीहरूको भनाइ थियो ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री इन्द्रजीत थारुले संविधानले व्यवस्था गरेका अधिकार पूर्ण रूपमा प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुन नसक्दा संघीयता कार्यान्वयनमा कठिनाइ भइरहेको बताए । उनले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनको काम पूरा नहुँदा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको उल्लेख गरे ।
थारुले संघीय सरकारसँग रहेको स्रोतसाधनको बाँडफाँटमा समेत पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनका अनुसार संघले ४० प्रतिशत र प्रदेश तथा स्थानीय तहले ६० प्रतिशत स्रोतसाधन पाउने व्यवस्था हुनुपर्छ । उनले विगतका शासक र जनप्रतिनिधिले शासन गर्ने प्रवृत्ति देखाए पनि अहिलेका जनप्रतिनिधिले जनताको सेवा गरिरहेको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले संघ र प्रदेश सरकारले कुनै पनि योजना सञ्चालन गर्नुअघि स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नुपर्ने बताए । संघीय सरकारले खटाउने प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा हुँदा स्थानीय तहको काम प्रभावित भइरहेको उनको भनाइ थियो ।
विष्टले संस्थागत घरबहाल कर र ई–रिक्सा व्यवस्थापनजस्ता विषयमा पनि स्थानीय सरकारले सहजकर्ताको भूमिका मात्र निर्वाह गर्न सकिरहेको बताए ।
त्यस्तै, कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले स्थानीय तहको अधिकार र क्षमताभन्दा बाहिरका कामका लागि समेत नागरिकले स्थानीय सरकारलाई दबाब दिने गरेको बताइन् । प्रदेश र स्थानीय तहका कानुनबीच बाझिने अवस्था रहँदा काम गर्न कठिन भएको उनको भनाइ थियो ।
उनले विकास पूर्वाधार निर्माणका क्रममा प्रदेश र संघका जनप्रतिनिधिहरूको व्यक्तिगत रुचि तथा हस्तक्षेपले समेत समस्या सिर्जना गर्ने गरेको बताइन् ।
उक्त छलफलको सहजीकरण तुला अधिकारीले गरेकी थिइन् । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापाले प्यानलिस्ट र मोडरेटरलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।