२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

युवा उद्यमीका चुनौती र सम्भावनाबारे नेपालगन्ज कनक्लेभमा बहस

Nada
२०८३ मंसिर ११ गते १५:१४
Shares
युवा उद्यमीका चुनौती र सम्भावनाबारे नेपालगन्ज कनक्लेभमा बहस

नेपालगन्ज : नेपालगन्ज कनक्लेभको दोस्रो सत्र ‘युवा उद्यमीमार्फत व्यवसायको विस्तार’ शीर्षकमा सम्पन्न भएको छ । सत्रमा युवा उद्यमशीलताको विकास, व्यवसाय विस्तारका चुनौती तथा त्यसका लागि आवश्यक पूँजी, बजार, सीप, नीति र शिक्षाका विषयमा छलफल गरिएको थियो ।

सत्रमा एनजीसीका सदस्य एवं इन्जिनियर तर्कराज भट्ट, चार्टर्ड एकाउन्टेन्ट तेजप्रकाश दीक्षित, मनोसाहारा नेपालका संस्थापक रक्षा रेग्मी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वली सहभागी थिए । वक्ताहरूले उद्यमी बन्न र व्यवसाय विस्तार गर्न पूँजी, बजार, सीप, स्पष्ट नीति तथा व्यावहारिक शिक्षा आवश्यक रहेको धारणा राखे । 

इन्जिनियर तर्कराज भट्टले उद्यमशीलताको विकास र व्यवसाय विस्तारका लागि सही व्यक्तिलाई सही जिम्मेवारीमा राख्न सक्नुपर्ने बताए । आफू कोभिडपछि उद्यमशीलताको यात्रामा लागेको अनुभव सुनाउँदै उनले आफूसँगै अध्ययन गरेका ९० प्रतिशत साथी विदेशमा रहेको जानकारी दिए । नेपालमै पनि उद्यमी बन्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो ।

चार्टर्ड एकाउन्टेन्ट तेजप्रकाश दीक्षितले स्पष्ट योजना बनाएर अघि बढ्न सके जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने बताए । उनले साथीभाइ मिलेर व्यवसाय सुरु गर्ने, कठिन परिश्रम गर्दै अघि बढ्ने तर सफलता प्राप्त गरेपछि आपसी विवादमा अल्झिने प्रवृत्ति देखिएको उल्लेख गरे ।

मनोसाहारा नेपालका संस्थापक रक्षा रेग्मीले मनोवैज्ञानिक सेवाबारे समाजमा अझै पर्याप्त जनचेतना नरहेको बताइन् । यस क्षेत्रमा सेवाग्राहीको विश्वास जित्नु ठूलो चुनौती रहेको उनको भनाइ थियो । आफ्नो संस्थाको उद्देश्य प्रत्येक व्यक्तिलाई आफ्ना मनोभावना बुझ्न सक्षम बनाउँदै जीवनमा आइपर्ने चुनौतीहरूको व्यवस्थापन गर्न सहयोग पुर्‍याउनु रहेको उनले बताइन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले नेपालमा स्थिर सरकार बनेसँगै लगानी बढेको भए पनि उपभोक्ता नै देशमा नरहने अवस्था सिर्जना हुँदै गएको बताए । १८ वर्षदेखि व्यापार व्यवसायमा संलग्न रहनुभएका वलीले ज्ञानको अभाव र दक्ष जनशक्तिको कमीका कारण व्यवसाय सञ्चालनमा विभिन्न समस्या आउने गरेको अनुभव सुनाए ।

पवित्रबहादुर गौतमले सहजीकरण गरेको उक्त सत्रको अन्त्यमा आयोजकले सहभागी प्यानलिस्ट तथा सहजकर्तालाई मायाको चिनो प्रदान गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर