
काठमाडौँ : भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ता विदेशी नागरिकमध्ये १९ देशका ६२३ जनाको विवरण सम्बन्धित देशका निकायबाट प्राप्त भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राप्त विवरणमा सबैभन्दा धेरै भारतका २१३ जना रहेका छन् ।
चीनका ८५, अमेरिकाका ६९, युक्रेन र मलेसियाका ५४–५४, अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका २७ जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको छ । त्यस्तै, रुसका ११, कोरिया र सिङ्गापुरका नौ–नौ, जर्मनीका आठ, दक्षिण अफ्रिकाका छ, फ्रान्सका चार तथा इटाली, हङ्गेरी, बेल्जियम र काजकिस्तानका दुई–दुई जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
बेलारुसका एक जना नागरिकको विवरण पनि प्राप्त भएको छ। प्राधिकरणका अनुसार लाट्भिया, जापान, न्युजील्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, इस्टोनिया, फिनल्यान्ड, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्विडेन, स्वीट्जरल्यान्ड र भियतनामलगायतका देशबाट भने विवरण प्राप्त हुन बाँकी रहेको छ ।
प्राधिकारणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले सम्बन्धित देशका निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता नागरिकको विवरण अद्यावधिक गरिरहेको जानकारी दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट बेपत्ता व्यक्तिलाई मृत्यु घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
समितिका अनुसार ४८ जिल्लाबाट एकिन भई आएका तीन हजार ९१५ नेपाली तथा सातवटा विदेशी नियोगबाट एकिन भई आएका ६२३ विदेशी नागरिकको विवरण प्राप्त भएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ ।
विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा प्राधिकरणले दाबी पेस गर्न दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।