२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

डिजिटल युगमा कथा लेखन, लेखकहरू एआई संस्कृतिबाट जोगिनुपर्ने धारणा

Nada
२०८३ मंसिर ११ गते १७:३७
Shares
डिजिटल युगमा कथा लेखन, लेखकहरू एआई संस्कृतिबाट जोगिनुपर्ने धारणा

नेपालगन्ज : बाह्रखरी कथा प्रतियोगिताले नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको साहित्यकार तथा प्रकाशकहरूले बताएका छन् । नेपालगन्ज कन्क्लेभमा आयोजित ‘कथाको भविष्य र प्रकाशनको चुनौती : सन्दर्भ बाह्रखरी कथा’ विषयक सत्रमा सहभागी वक्ताहरूले आठ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गरेर बाह्रखरीले नयाँ लेखकलाई प्रोत्साहन गर्दै आएको बताएका हुन् ।

सत्रमा वरिष्ठ कथाकार सनत रेग्मीले साहित्यको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए  । उनले यस्ता प्रतियोगिताले नयाँ लेखक जन्माउन र उनीहरूमा लेखन ऊर्जा थप्न सहयोग पुग्ने धारणा राखे ।

डिजिटल युगमा कथा लेख्दा सामाजिक संरचना, सोच, सभ्यता र संस्कृतिलाई समेट्नुपर्नेमा जोड दिँदै रेग्मीले समाजलाई सकारात्मक रूपमा उत्प्रेरित गर्ने कथा लेख्नुपर्ने बताए । उनले लेखकहरू एआई संस्कृतिबाट जोगिनुपर्ने धारणा पनि राखे ।

फाइनप्रिन्टका प्रकाशक निरज भारीले बाह्रखरीले आयोजना गर्दै आएको कथा प्रतियोगितालाई नेपालको प्रकाशन क्षेत्रमा अद्भूत कामका रूपमा व्याख्या गरे । उनले यस प्रतियोगिताले नेपाली साहित्यमा कस्ता नयाँ लेखक आइरहेका छन् भन्ने देखाउने बताए ।

नेपालमा नयाँ पुस्तक प्रकाशन हुँदा बजारमा आकर्षण कम देखिएको स्वीकार गर्दै भारीले पुस्तक प्रकाशन भने नरोकिएको उल्लेख गरे । अहिले नेपाली पुस्तकले अंग्रेजी पुस्तकसँग प्रतिस्पर्धा गर्नुपरिरहेको उनको भनाइ थियो ।

कथाकार सरस्वती सरसले बालबालिकाले प्रविधिलाई साध्यका रूपमा ग्रहण गर्न थाले मानवीय अस्तित्व नै संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिन् । ‘अस्तित्वको एल्गोरिदम’ शीर्षकको कथाबाट पुरस्कृत सरसले एक दशकदेखि बालबालिकाको क्षेत्रमा काम गर्दा र वर्तमान पुस्ताका बालबालिकामा प्रविधिप्रतिको बढ्दो लगाव देख्दा यस्तो चिन्ता बढेको बताइन् ।

त्यस्तै, कथाकार मधुर भट्टराईले २०८३ सालको कथा प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि आफ्नो लेखनमा पनि केही रस रहेछ भन्ने अनुभूति भएको बताए  । उनले प्रतियोगिताले आफूलाई अघि बढ्नका लागि राजमार्ग निर्माण गरिदिएको अनुभव सुनाए  ।

सत्रको सहजीकरण नयनराज पाण्डेले गरेका थिए । सत्रका प्यानलिस्ट तथा मोडरेटरलाई साहित्यकारद्वय रेशम विरही र नरेन्द्रजंग पिटरले मायाको चिनो प्रदान गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर