दोहा, कतार : कतारमा स्थापित सामाजिक संस्थाहरुमध्ये अग्रणी तथा पुरानो सामाजिक संस्था पर्वत समाज कतारले गृह जिल्लामा सामाजिक तथा परोपकार क्षेत्रमा समेत आफ्नो छवि उच्च बनाउँदै लगेको छ । समाजसँग नजिक रहेर दीर्घकालीनरूपमा गृह जिल्लाका हरेक दुःखमा सारथी बन्न समाजले स्थापना गरेको पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष, विभिन्न इकाइ समिति र समाजमार्फत जिल्लाका विभिन्न स्थानमा आर्थिक सहयोग गरिएको छ ।
समाज, कोष र विभिन्न इकाइले पर्वतका करिब आधा दर्जन स्थानमा अतिआवश्यक बिरामी तथा मृतकका परिवारहरूलाई नगद सहयोग गरेको हो । मिर्गौला फेल भएर उपचारका क्रममा मृत्यु भएका बिहादी–५ निवासी समाजका आजीवन सदस्य तथा पूर्वकार्यसमिति सदस्य हरिलाल सापकोटाका परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
पिङ खेल्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका पाङ्ग–१ का सञ्जय परियारका परिवारलाई १० हजार, मिर्गौला फेल भइ हाल उपचाररत कुस्मा नगरपालिका–८ निवासी विजय भण्डारीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
त्यस्तै दुवै मिर्गौला फेल भएर हाल उपचाररत तिलहार–३, पर्वत निवासी कृष्ण लामिछानेलाई १० हजार रुपैयाँ सहयोग गरिएको अक्षयकोषका अध्यक्ष नन्दलाल विकले जानकारी दिए । उनले पर्वत समाज कतारको पूर्वकार्यसमितिले पनि लामिछानेलाई ९१ हजार रुपैयाँ सहयोग गरिसकेको र अहिले कोषमार्फत सहयोग गरिएको स्पष्ट पारे ।
पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि अक्षयकोष र पर्वत जलजला समाज इकाइ कतारले १०–१० हजारका दरले २० हजार रुपैयाँ सहयोग गरेका छन् । फलेवास नगरपालिका–२ घाँटीका क्यान्सर रोगी ११ वर्षीय अनीष कुँवरलाई समाज मातहत रहेको फलेवास नगर इकाइले ५१ हजार ५ सय १ रुपैयाँ सहयोग गरेको समाजका अध्यक्ष रघुनाथ शर्माले मध्यान्ह दैनिकलाई जानकारी दिए । उनले इकाइ र अक्षयकोषमार्फत जिल्लाका दुःखी पीडितसमक्ष समाजलाई पुग्न सहज भएको बताउँदै मानवीय सेवाका लागि समाज र सम्बन्धित सबैले खेलेको भूमिकाको प्रशंसा गरे ।