
काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनले आफूलाई पदबाट हटाउने निर्णय बदर गरी पुनः आइजिपीमा बहाली गर्न माग गरेका छन् ।
अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार कार्कीका तर्फबाट बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको हो । यद्यपि, सर्वोच्च अदालतले रिटको अध्ययन गरिरहेको र हालसम्म दर्ता भइसकेको छैन । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुने भन्ने टुंगो लाग्नेछ ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आइजिपी पदबाट हटाउने निर्णय गरेको थियो । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
त्यसैगरी, सरकारले कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त जिम्मेवारीमा पदस्थापन गर्ने निर्णयसमेत गरेको थियो ।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले आफू अन्यायमा परेको दाबी गरेका छन् ।