तेज बन/मध्यान्ह
इटहरी : नगरवासीलाई घरसम्मै यातायातको सुविधा दिने उद्देश्यले इटहरी उपमहानगरले गत साउन २२ गते ४ वटा विद्युतीय नगर बस खरिदसँगै असोज १ गतेबाट सञ्चालनमा आयो । बाजा, गाँजा र नाचगानसहित सञ्चालनमा ल्याएको ४ वटा नगर बस हाल इटहरी उपमहानगरको चार वटा दिशालाई गन्तव्य बनाएर गुडिरहेको देख्न पाइन्छ । गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस खरिद निर्णय बमोजिम ८१ साउनमा इटहरी ल्याइएको थियो । सिनोट्रक मातहतको ट्रेडिङ कम्पनी ‘नेसनल फायर सेफ प्रालि’ मार्फत खरिद गरी इटहरी ल्याइएको हो । बस खरिदका क्रममा एक करोड बढी भ्रष्टाचार भएको नेतृत्वमाथि आरोप लाग्दै आएको छ । सो आरोपको पुष्टी भने कतैबाट प्रमाणित हुन सकेको छैन ।
उपमहानगरले करोडौं मूल्यमा नगर बस खरिद गरेर राजमार्गमा गुडाए पनि नगरवासी भने उत्साहित देखिएका छैनन् । कुरेर बसेको बेला बस नआउने र प्रायः रित्तै कुद्ने गरेको इटहरी ६ की दिव्या काफ्ले बताउँछिन् । पलकीबाट एक दिन नगर बस चढेर नगरपालिकासम्म आउँदा जम्मा ९ जना मात्र यात्रुहरू रहेको उनले बताइन् । तर सेवा सुविधासँगै अपाङ्गमैत्री रहेकोले बसको तारिफ पनि गरिन् ।
इटहरी ६ त्रिवेणी टोलमा चिया पसल गर्ने युवराज आचार्यले नगर बस सेटिङमा खरिद भएको आरोप लगाए । ‘हाम्रोतिर गुडेको देख्दिन । बिहान आउँदा साइकलमै आउनुपर्छ के गर्नु ?’ उनले भने । समय तालिका अनुसार सञ्चालन भए नगरवासी लाभान्वित हुने उनको भनाइ छ । इटहरी ४ का परशुराम कार्कीले नगर बसको चर्चा गरेका छन् । बढ्दो सवारी जाम नियन्त्रण भए नगरका लागि यो लाभदायक हुने उनले बताए । इटहरी त्यसै पनि सिटी सफारीको जामले अस्तव्यस्त भएको सहर हो । नगर बस भित्रिएपछि यो समस्या समाधान हुनेमा विश्वस्त रहेको उनले बताए ।
त्यस्तै पूर्वराष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङले समाजमा सकारात्मक भन्दा नकारात्मक कुराहरू छिटो बिक्ने भएको हुँदा हल्लाकोपछि लाग्न नहुने बताए । अहिलेको नेतृत्वले गरेको राम्रो कामको प्रसंशा हुनुपर्ने बताए । नगर बस मात्र नभइ शिक्षा, स्वास्थ्य र बजार क्षेत्रमा पनि त्यतिकै सकृय हुन नेतृत्वलाई सुझाव दिए ।
यता उपमहानगरका प्रवक्ता तथा ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले नगरवासीले भने जस्तै सबै समस्या एकै पटक समाधान नभए पनि विस्तारै हल हुँदै जाने बताए । पहिलेको तुलनामा अहिले सवारी जाम कम हुँदै गएको उनले दाबी गरे । सिटी सफारीको चापलाई उपमहानगरले कसरी हुन्छ ?, व्यवस्थापन गर्ने विषयमा छलफल चलिरहेको प्रवक्ता पोख्रेलले बताए ।
इटहरीका ग्रामीण सडकलाई सहरसँग जोडने र त्यहाँका वासिन्दाहरूलाई यातायातको सेवा पुर्याउने र निर्वाचनको बेला जनतामाझ गरेको बाँचा पूरा गर्ने क्रममा विद्युतीय नगर बस खरिद गरी सञ्चालनमा ल्याइएको उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । आफ्नो नेतृत्वमा गठन भएको स्थानीय सरकारले चुनावताका बेला गरेको घोषणाहरू र बाचाहरू क्रमशः आफ्नै कार्यकालमा पूरा गर्ने प्रमुख पौडेलले बताए ।