काठमाडौं : नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका छन् ।
एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गरेको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा छन् ।
दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies