तेज बन/मध्यान्ह
इटहरी : सुनसरीको इटहरी १ आपगाछिस्थित राष्ट्रिय माध्यमिक विद्यालयले ६९ आंै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
विद्यालयका अध्यक्ष कोविदजंग कार्कीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न विद्याका छात्रावृत्ति, अक्षयकोष लगायत अन्य समयमा सम्पन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक लगायत पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले मुलुकमा गणतन्त्र स्थापनापछि गाउँ समाज शहर पनि प्रविधिमैत्री बनिसकेकोले अबको शिक्षालाई प्रविधिसँग जोडेर अघि बढ्ने प्रयत्न भइरहेको बताए । जुन आफ्नै कार्यकालमा बनाउने पनि प्रतिबद्धता जाहेर गरे । उनले आफुले उपमहानगरको प्रमुख दायित्व बोकेदेखि शिक्षा क्षेत्रलाई सुधारका लागि डटेर लागिरहेको तर केही समुहले खुट्टा तान्ने प्रवृत्ति देखाएपनि हिम्मत नहार्ने बताए । चुनावको बेला जनतामाझ गरेको प्रतिबद्धता अनुसार आधारभूत आवश्यकताहरू, विकासका पूर्वाधारहरू, शिक्षा क्षेत्रमा देखिएका समस्याहरू निर्मूलीकरण गर्नेतर्फ स्थानीय सरकार तत्पर रहेको पनि बताए ।
छोटो समयमा बेग्लै पहिचान बनाइसकेको राष्ट्रिय मावीले इटहरी क्षेत्रका सामुदायिक विद्यालयहरूको तुलनामा पनि स्थापित भइसकेको जसले उपमहानगरको पनि शिर उच्च राख्ने काम गरिरहेको उल्लेख गर्दै मेयर पौडेलले विद्यालयको आगामी दिन उज्वल भविश्यको शुभकामना पनि दिए ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोवीदजंग कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भविष्यमा विद्यालयलाई कोशी प्रदेशकै नमुना विद्यालय निर्माणदेखि भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय भूमिका खेल्ने जस्ता योजनाहरू सुनाएका थिए ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक शरन कुमार बस्नेतले वर्ष भरी विद्यालयले गरेको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले विभिन्न रमाइलो साँस्कृतिक कार्यक्रमहरू आयोजना गरेका थिए ।
कार्यक्रममा उपमहानगरकी उपप्रमुख संगीता कुमारी चौधरी, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेशका निर्देशक सञ्जय कुमार न्यौपाने, शिक्षा विकास तथा समन्वय ईकाइ सुनसरीका प्रमुख खगेन्द्र कुमार सुवेदी, इटहरी उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश कुमार शाह लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।