२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

स्थानीय तह उपचुनाव : मौन अवधि लागू

ADV
मध्यान्ह
२०८१ मंसिर १४ गते ०६:३५
स्थानीय तह उपचुनाव : मौन अवधि लागू

काठमाडौं : स्थानीय तहको उपचुनावअन्तर्गत मौन अवधि लागू भएको छ । यही १६ मंसिरमा हुने उपचुनावअन्तर्गत निर्वाचन प्रचार प्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागू भएको हो । 

उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुनेगरी निर्वाचन प्रचार प्रसार निषेध अवधि लगाउने गर्छ । 

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा यससम्बन्धी व्यवस्था छ । यसअनुसार मौन अवधिमा विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले के गर्न पाउँछन्, के गर्न पाउँदैनन् भनेर मापदण्ड नै तय गरेको छ । 

यसअनुसार कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न पाइँदैन । जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न पनि पाइँदैन । 

निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि नगर्न÷नगराउन आयोगले भनेको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन । 

सामाजिक संजाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न पनि निषेध गरिएको छ । 

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा मापदण्डविपरीतका कार्य भए गरेको केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिले अनुगमन गर्ने छन् । स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत अनुगमन हुने छ । कहीँ कतै आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही हुन सक्ने छ । 

उपचुनाव स्थानीय तहका ४४ पदका लागि हुँदै छ । २ जिल्ला समन्वय समिति प्रमुख, १/१ मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि चुनाव हुँदै छ ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । 

निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् । ४४ पदमध्ये ३ पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्र मतदान हुनेछ । 

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल)निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise