२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

मतदाताको परीक्षा

ADV
२०८१ मंसिर १४ गते ०६:५५
मतदाताको परीक्षा

रिक्त स्थानीय तहमा आइतबार (१६ मंसिरमा) हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । २ मंसिरमा उम्मेदवारी दर्ता भएपछि बिहीबार मध्यरातसम्म प्रचारको समय छुट्याइएको थियो । यो अवधिमा उपचुनाव हुने ४१ स्थानका निम्ति ३७६ जनाले आफ्नो प्रचार गरे । ओखलढुंगा र कैलाली जिल्ला समन्वय समितिका सभापति र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका– २ का वडाध्यक्ष भने निर्विरोध चयन भए । बाँकी स्थानमा जित हात पार्ने योजनासहित उम्मेदवारहरूले सकेसम्म राम्रो प्रचार गरे । मौन अवधि सुरु भएपछि भने उम्मेदवारहरूले मत माग्न पाउने छैनन् । यो अवधि मतदाताका निम्ति हो । उम्मेदवारहरूबाट प्रस्तुत एजेन्डाको अध्ययन गर्ने र उपयुक्त निर्णय लिन चाहिने समयलाई संसदीय लोकतन्त्रमा मौन अवधि भनिन्छ । त्यसैले उपचुनाव हुने बिहानसम्मको यो अवधिमा मतदाताले विशेष ध्यान पुर्‍याउन आवश्यक हुन्छ । एक पटक मत दिइसकेपछि सच्याउन अर्को निर्वाचन कुर्नुको विकल्प नहुने भएकाले पनि यो अवधि महत्त्वपूर्ण छ । 

अझ ‘मौन अवधिको उल्लंघन गरी मतदातालाई प्रभावमा पार्ने काम उम्मेदवारहरूले गर्छन्’ भन्ने भाष्य स्थापित हुँदै गएकाले पनि यो अवधि महत्त्वपूर्ण छ । उम्मेदवारले राख्ने एजेन्डाबाट प्रभावित भएर मत दिनु स्वाभाविक हो । तर, तात्कालिक लाभको प्रलोभनमा पारेर मत दिनु अस्वाभाविक हो । त्यसरी मत दिनु गल्ती हो । लोकतन्त्रमा धेरै जनाले रोजेका मानिस जनप्रतिनिधि हुन्छन्, देश चलाउँछन् । यसको अर्थ जसरी पनि धेरै मानिस आफ्नो पक्षमा पार्ने भन्ने होइन । गलत व्यक्तिले चुनाव जित्नु लोकतन्त्रको कमजोरी हो । हाम्रै विगत हेर्ने हो भने पनि योग्य मानिसले पराजित हुनुपरेको थुप्रै उदाहरण भेटाउन सकिन्छ । चल्तीकै भाषामा भन्दा मतको खरिद–विक्रीले लोकतन्त्र कमजोर बनिरहेको छ । मतदाता खरिद हुने र सत्ताकै स्वार्थमा जनप्रतिनिधि बन्ने प्रवृत्तिले समृद्ध मुलुक संभव छैन । मतदाताकै सन्दर्भमा पनि बेचेको मतबाट जितेका नेतालाई प्रश्न गर्ने नैतिक सामथ्र्य रहँदैन । 

चुनाव तात्कालिक हारजितको कुरा मात्र होइन । यो सीमित व्यक्तिहरूबीच चल्ने संघर्ष मात्र पनि होइन । चुनाव त देशको सार्वभौमता, लोकतन्त्र र विधिको शासनलाई बलियो बनाउने कुरा हो । सही मानिस छनोट गरेर भोलिका निम्ति सही निर्णय लिने कुरा हो । कतिपयलाई लाग्न सक्छ, यो वडाध्यक्षको उपचुनाव मात्र हो । तर, यहाँ पद ठूलो कुरा होइन, यसबाट जाने सन्देश महत्त्वपूर्ण छ । कुन दललाई हराउने वा जिताउने भन्ने कुरा उसले विगतमा गरेको निर्णयका आधारमा गरिनुपर्छ । दलहरूले कस्ता व्यक्ति उम्मेदवार बनाए भन्ने हेरेर मतको निर्णय लिइनुपर्छ । कसैको लहैलहैमा लागेर अथवा स–सानो प्रलोभनमा परेर मतदानको निर्णय लिइनु हुन्न । फेरि पनि भनौं– चुनाव भनेको भोलिको समाज निर्माणको आधार गर्ने कुरा पनि हो । त्यसैले यो मौन अवधिमा मतदाताहरूले गम्भीर बनेर सोच्न आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise