काठमाडौं-अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशसामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको दुबई क्रिकेट रंगशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगरले २९ रन बनाउँदा अभिषेक तिवारी २९ रनमा आउट भए। अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बंगलादेशका बलरले १७ रन अतिरिक्त दिएका थिए ।
नेपाललाई सस्तैमा समेट्न अल फहाद, रिजन होसेन र एक्वाल होसेनले समान २ विकेट लिए । साद इस्लाम, मोहमद रफी उज्मान र अजिजुल हाकिमको नाममा समान एक–एक विकेट रह्यो ।
एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो भने बंगलादेशले अफगानिस्तानलाई हराएको थियो ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर एसिया कपका लागि छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’ मा छन् ।