२०८१ चैत २८ गते बिहिवार / Apr 10 , 2025 , Thursday
२०८१ चैत २८ गते बिहिवार
Ads

पर्यावरणका लागि सिमसार

draupadi film
२०८१ मंसिर २० गते ०६:०५
पर्यावरणका लागि सिमसार

–के.बी. बस्नेत

विश्व तापक्रममा हुने परिवर्तन प्राकृतिक र मानवीय कारणले हुने हो । विशेषतः खनिज तेलको खपत तीव्र रूपले बढ्नाले विश्वको तापक्रम पनि बढिरहेको छ । यसबाट यहाँको वातावरणमा नकारात्मक प्रभाव परेको छ ।

आज विश्वमा वातावरणीय प्रदूषण दिनदिनै बढिरहेको छ । तर, विश्वको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी हुँदा पनि विश्वमा वातावरणीय विनाश न्यूनीकरणसम्बन्धी सहमति हुन सकेको छैन । वस्तुतः विश्वमा वातावरणीय विनाश हुनुका प्रमुख कारण विकसित देशहरूमा विद्यमान औद्योगिक तथा अन्य विकासमूलक क्रियाकलापहरू नै हुन् । यद्यपि, हालसम्म पनि यिनीहरूको रोकथाम गर्न सकिएको छैन । 

विश्वमा विद्यमान वातावरणीय विनाशको प्रभाव नेपालमा पनि परेको छ । वास्तवमा २ ठूला छिमेकी राष्ट्रहरू चीन र भारतमा औद्योगिक तथा अन्य विकासका क्रियाकलापहरू तीव्र रूपले बढ्नाले यहाँको वातावरण विनाशमा सघाउ पुगेको छ । परन्तु, यस सम्बन्धमा हालसम्म पनि कुनै वार्ता नभएकाले यहाँ वातावरण विनाश न्यून गर्न सकिएको छैन । 

पृथ्वीमा रहेका विभिन्न तत्त्वहरूमध्ये कुनै एक मात्र घटबढ भए पनि अरूमा प्रभाव पर्छ । हाल विश्वमा भइरहेको पर्यावरणमा असन्तुलनले मानवलगायत विभिन्न प्राणीहरूको क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ । तसर्थ, हाल भइरहेको र भविष्यमा हुने वातावरणीय विनाशले यस धरतीमा रहेका विभिन्न प्राणी, वनस्पति र समग्रमा सम्पूर्ण मानव जातिको अस्तित्व नै संकटमा रहने सम्भावना छ ।

पर्यावरण सन्तुलनका लागि सिमसारले महत्त्वपूर्ण भूमिका खेल्छ, जुन एक रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । यसका मुख्य २ विशेषता भनेको पानी र जमिन हो । 

सिमसारलाई सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छ । यसले भूक्षय न्यूनीकरण, पानी शुद्धीकरण एवं भण्डारण, बाढीको पानी संकलन तथा रोकथाम र नदी तथा खोलाको पानीको बहाव नियन्त्रण गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । 

सिमसारले वातावरण सन्तुलन गर्ने काममा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यसलाई जोगाइराख्न वनजंगलले महत्त्वपूर्ण भूमिका खेल्छ । तर, दुःखको कुरा, हाल नेपालको धेरै वन विनाश र अतिक्रमण भएको छ । पछिल्लो २ वर्षको अवधिमा यहाँ झन्डै ९० हजार हेक्टर वन क्षेत्र अतिक्रमित भएको छ । 

यही कारणले यहाँका केही सिमसार लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । फलतः बासस्थानको अभावमा यहाँका केही पशुपंक्षीहरू लोप भएका छन् भने केही संकटमा परेका छन् । 

साधारणतः दलदलयुक्त तालतलैया, नदी, खोला, जलाशय आदिलाई सिमसार मानिन्छ, जसमा जलीय प्राणी, पशुपक्षी आदि मात्र नभई मानव अस्तित्व पनि निर्भर रहन्छ । सिमसार प्राणीहरूको अस्तित्वसँग मात्र नभई धर्म र संस्कारसँग पनि आबद्ध छ । उदाहरणका लागि, थारू समुदायको पिटरहुवा र भोजमा आवश्यक पर्ने माछा, घोंगी र गँगटो सिमसारबाट प्राप्त हुन्छ ।

राष्ट्रिय ताल संरक्षण विकास समितिको तथ्यांकअनुसार नेपालमा ५ हजार ३५८ सिमसार क्षेत्रहरू छन्, जसमध्ये समुद्री सतहदेखि ५ मिटरभन्दा मुनि अवस्थित २ हजार ७१२ छन् भने ३ हजार मिटरमाथि २ हजार २२७ अवस्थित छन् । 

नेपाल सरकारको कृषि विभागको एक प्रतिवेदनअनुसार यहाँ १६३ सिमसार क्षेत्र तराई क्षेत्रमा र ७९ सिमसार क्षेत्र हिमाली र पहाडी क्षेत्रहरूमा छन् । 

वातावरण विनाशको कारण नेपालमा सिमसार क्षेत्रहरूको संख्या दिन प्रतिदिन घटिरहेको छ किनभने यिनीहरू कतै खेत त कतै घडेरी माछा पोखरीको रूपमा सीमित भएका छन् । यहाँका कतिपय ठाउँहरूमा अत्यधिक चरण, जडीबुटी संकलन, पानीको प्रयोग आदिले गर्दा सिमसार क्षेत्रहरूको धेरै नै दोहन भएको छ ।

बढ्दो प्रदूषणले एकातिर यहाँका सिमसार क्षेत्रहरू ग्रस्त छन् भने अर्कातिर यहाँको जैविक विविधतामा ह्रास आएको छ । यहाँका केही ठाउँहरूमा भूमि अतिक्रमण, भूक्षय र बाढीपहिरो जस्ता दैवी प्रकोपहरूले सिमसार क्षेत्रहरूमा नकारात्मक प्रभाव परेकोले चराचुरुंगीहरूले आफ्ना वासस्थान गुमाई अन्यत्र सर्नुपर्ने भएको छ । 

वर्तमान समयमा नेपालका केही स्थानीय तहहरूले आसपासका ताललाई माछापालनका लागि ठेक्कामा दिएकाले चरम दोहन भएको छ किनभने तालहरूमा माछा पाल्दा त्यहाँ ठेकेदारहरूले नाइट्रोजन, फस्फोरस, भ्रुण आदि हाल्छन्, जसका कारण एकातिर स्थानीय प्रजातिका माछा र जलचरहरू लोप हुने अवस्थामा छन् भने अर्कातिर यहाँको जैविक विविधतामा पनि नकारात्मक प्रभाव परेको छ । यति मात्र नभई यहाँका स्थानीय तालहरूको पारिस्थितिकीय प्रणालीमा नकारात्मक प्रभाव पर्दा रैथाने जातका चराचुरुंगी तथा वनस्पति लोप हुने अवस्थामा छन् । 

जलवायु परिवर्तनका दृष्टिकोणबाट नेपाल विश्वको १४औं जोखिमयुक्त देश हो । यहाँका हिमनदीहरू बर्सेनि ६७ मिटरको दरले खुम्चिँदै छन् । साथै, यहाँका हिमतालहरू फुटेर ठूला बाढीपहिरो आउने सम्भावना भएकाले सिमसार क्षेत्रहरू सुक्ने र पुरिने सम्भावना प्रबल छ । यसको फलस्वरूप यहाँका पशुपक्षीको वासस्थान साँघुरो हुने, क्षय हुने र अन्त्यमा विलीन हुने सम्भावना बढेको छ ।

यसबाट स्थानीय जनताको जीवनमा नकारात्मक प्रभाव पर्ने छ । केही वर्षयता नेपालका सिमसार क्षेत्रहरू नासिने अवस्थामा छन् । परन्तु, हालसम्म पनि यिनीहरूका संरक्षण कार्यहरू प्राथमिकतामा परेका छैनन् । यथार्थतः सिमसार क्षेत्र प्रकृति प्रदत्त उपहार हो, जसको संरक्षणका लागि एकातर्फ भूमि तथा वनजंगलको सुरक्षाको आवश्यकता छ भने अर्कातर्फ सम्बन्धित व्यक्ति तथा निकायहरूको सक्रिय सहयोगको उत्तिकै जरुरी छ ।

ADV

सम्बन्धित खबर

Advertise