कपिलवस्तु : कपिलवस्तुको राजपुरदेखि दत्तापुरसम्मको हुलाकी सडक निर्माण कार्यमा ठेकेदार पक्षको मनोमानी र मापदण्डविपरीतको काम गरेको पाइएको छ ।
गोल्डेन लामा जेभी शिवशक्ति कन्स्ट्रक्शनले राजपुरदेखि पश्चिम दत्तापुरसम्म सडक निर्माणको जिम्मा लिएको छ । तर, निर्माण कार्यमा माटोको सट्टा बालुवा प्रयोग गरिएको पाइएको छ ।
ठेकेदार कम्पनीले मापदण्डविपरीत बालुवा प्रयोग गर्दा कम्पेक्सन राम्ररी नहुने, सडक लुज हुने, चाँडै भासिने र भत्किने जोखिम बढ्ने प्राविधिकहरूले बताएका छन् । यसले गर्दा सडकको पिच पनि धेरै समय टिक्न नसक्ने ठोकुवा गरिएको छ । यसरी लामो समयपछि निर्माण भइरहेको हुलाकी राजमार्गमा गुणस्तरहीन काम हुनुले स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।
यस विषयमा हुलाकी सडक डिभिजन कार्यालय, गोरुसिगे कपिलवस्तुको तर्फबाट खटिएका इन्जिनियर पवित्रमणि आचार्यले ठेकेदार पक्षले विभागलाई कुनै जानकारी नदिइ र प्राविधिकको सुपरभिजन बिना नै बालुवा प्रयोग गरेको बताए । उनले यो कार्यको तत्काल निरीक्षण गरी गुणस्तरहीन सामग्री हटाएर गुणस्तरयुक्त सामग्री प्रयोग गरिने दाबी गरे ।
इन्जिनियर आचार्यले हुलाकी सडक निर्माणमा कुनै पनि प्रकारको लापरवाही वा मनोमानी स्वीकार्य नहुने र गुणस्तर कायम गर्न कडाइ गरिने बताएका छन् । विभागले निर्माण कार्यमा कुनै सम्झौता नगर्ने र दोषी ठेकेदारलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।