काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गर्न लागेको भवन उपयुक्त नभएको बताएको छ ।
संघले राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन खरिदका लागि वैनाबट्टा गरी बुधबार धार्मिक विधिअनुसार वास्तु पूजा सम्पन्न गरेको थियो । संघले उक्त भवन खरिदका लागि बैना गरेको सार्वजनिक भएदेखि नै सामाजिक संजालमा असन्तुष्टि जनाइएको अवस्थामा एसोसिएसनले बिहीबार विज्ञप्तिमार्फत औपचारिक रूपमा नै आफ्नो असन्तुष्टि सार्वजनिक गरेको हो ।
एसोसिएसन अध्यक्ष दीपक थापा र महासचिव महेशकुमार बस्नेतले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा विगतमा दूरदर्शिता राख्न नसक्दा संघका लागि आफ्नै भवन बनाउन ७ आना जग्गा खरिद गरी शिलान्याससमेत भएको जग्गामा सामान्य टहरासमेत बनाउन नमिल्ने अवस्था देखिएको भन्दै हाल आएर पुनः संघले आफ्ना घटक, शुभेच्छुक, जातीय÷भेगीय संस्थाहरू र संघकै पूर्व जिम्मेबार व्यक्तित्वहरूलाई समेत बाहिर राखेर अपारदर्शी रूपमा संस्थागत सम्पत्ति खरिद प्रक्रियासमेत पूरा नगरी भवन खरिद प्रक्रिया अघि बढाउनु उचित नभएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्किङ नभएको, नक्सामा बाटो कायम नभएको र अरूको घरको गेटबाट संघको भवनमा जानुपर्ने बाध्यता भएको भवनलाई खरिद गर्न बैना रकम दिएर कार्यालय नै स्थानान्तरण गर्नु उचित छैन ।’ संघको भवन खरिद जस्तो महत्त्वपूर्ण विषयमा व्यवसायी भेला बोलाएर बृहत् छलफल गर्नुपर्नेमा त्यसो नहुनु शंकास्पद पनि देखिएको भन्दै एसोसिएसनले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगतमा व्यवसायीहरूसँग उठाएको रकम मात्र नडुबी व्यवसायीका सपना र भावना पनि दुरुपयोग भएको भन्दै एसोसिएसनले संघको भवन भनेको सम्पूर्ण व्यवसायीहरूको साझा सम्पत्ति भएकाले त्यसमा सबै व्यवसायीहरूको साझा योगदान र अपनत्व पनि हुनुपर्नेमा जोड दिएको छ ।
संघको आफ्नै भवन हुनुपर्छ भन्नेमा सधैं सकारात्मक रहेको र आफ्ना सदस्य संस्थाहरूको आर्थिक योगदानको जिम्मेवारी लिनसमेत एसोसिएसन संस्थागत रूपमा तयार रहेको पनि दाबी गर्दै एसोसिएसनले भनेको छ, ‘एसोसिएसनले गलत नियतले ल्याइएका कुराहरूमा सदैव खबरदारी तथा सचेत गराउने र गलत गर्न लागेमा सदैव खबरदारी गर्ने छ ।’
यता, संघका अध्यक्ष राजेन्द्र भण्डारीले संघ स्थापनाको ३२ वर्षको अवधिमा आफ्नै भवन नहुनुको पीडादायी अवस्थाको अन्त्य गर्न उपयुक्त स्थानमा भवन खरिद गरिएको बताएका छन् ।
संघको आफ्नो भवन भएमा दैनिक कार्यालय संचालन, भावी योजना निर्माण र कतिपय नीतिगत छलफलमा समेत गुणात्मक परिवर्तन ल्याउन सकिने भन्दै अध्यक्ष भण्डारीले हालको स्थानमा खरिद गर्न लागिएको भवनको विरोध गर्नेहरू समयको अन्तरालमा आफैं पश्चात्ताप गर्ने अवस्थामा पुग्ने बताएका छन् ।
संघसँग एसोसिएसनका ६ प्रश्न
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भवन खरिद सम्बन्धमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग ६ प्रकारका स्पष्टता माग गरेको छ ।
संघमा बिहीबार लिखित निवेदन पेस गर्दै एसोसिएसनले भवन खरिदका लागि भएका व्यवसायी भेला तथा संघ कार्यसमितिका निर्णय, भवन खरिद प्रक्रियालाई पारदर्शी बनाउन अपनाएका प्रक्रियाहरू, खरिद गर्न लागेको जग्गाको लालपुर्जा, भवनको नक्सा र निर्माण सम्पन कागजात, भवन खरिदका लागि सम्बन्धित निकायको स्वीकृति, भवन खरिदका लागि हालसम्म संकलन भएको रकमको विवरण र अन्य कुनै संघसंस्थाबाट आर्थिक सहयोग पाउने अवस्था भएको भए त्यसको जानकारी दिन माग गरेको छ ।