
क्वालालम्पुर : मलेसियामा अवैध रूपमा बसोबास गरिरहेका २ लाख ४३ हजारभन्दा बढी विदेशी नागरिक सन् २०२६ को पहिलो १० महिनामा स्वदेश फर्किएका छन् । मलेसिया सरकारले सञ्चालन गरेको आप्रवासी स्वदेश फिर्ती कार्यक्रममार्फत जनवरीदेखि अक्टोबरसम्म २ लाख ४३ हजार ५०१ जना आफ्नै देश फर्किएका हुन् ।
मलेसियाको अध्यागमन विभागका अनुसार उक्त अवधिमा स्वदेश फिर्तीका लागि ३ लाख २८ हजार ७४४ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये अधिकांशले आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्किएको विभागका महानिर्देशक दातुक जकारिया शाबानले जानकारी दिएका छन् ।
यसैबीच, अवैध आप्रवासी नियन्त्रणका लागि सञ्चालन गरिएका विभिन्न कारबाहीमा ७० हजार १९५ जना पक्राउ परेका छन् । जनवरी १ देखि अक्टोबर ३१ सम्म देशभर ११ हजार ८०८ वटा कारबाही सञ्चालन गरिएको विभागले जनाएको छ । पक्राउ परेकामध्ये कानुनी प्रक्रिया पूरा गरेपछि ५२ हजार ५८५ जनालाई देश निकाला गरिएको छ। सोही अवधिमा १ लाख ५५ हजार ४९८ जनाको अध्यागमनसम्बन्धी जाँच गरिएको थियो ।
विभागका महानिर्देशक जकारियाका अनुसार भिसाको म्याद सकिएपछि पनि मलेसियामा बस्ने, भिसा तथा पासको दुरुपयोग गर्ने र वैध कागजातबिना काम तथा बसोबास गर्ने विदेशी नागरिकमाथि निगरानी र कारबाही तीव्र पारिएको छ ।
विशेषगरी विदेशी नागरिकको बाक्लो उपस्थिति रहेका आवासीय क्षेत्र, कार्यस्थल, व्यावसायिक प्रतिष्ठान तथा संवेदनशील स्थानलाई लक्षित गरी गुप्त सूचनाका आधारमा कारबाही भइरहेको उनले बताएका छन् । अवैध रूपमा विदेशी कामदार नियुक्त गर्ने, भिसा दुरुपयोग गर्ने तथा भवन र व्यावसायिक स्थललाई अवैध आवास वा ट्रान्जिट सेन्टरका रूपमा प्रयोग गर्ने गतिविधिमाथि पनि विभागले निगरानी बढाएको छ ।
अध्यागमन कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन मलेसिया प्रहरीले राष्ट्रिय दर्ता विभाग र स्थानीय निकायलगायत सरकारी तथा सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ । यस्तो सहकार्यमा पहिलो १० महिनामा १ हजार ६७४ वटा संयुक्त कारबाही सञ्चालन गरिएको छ । यसका अतिरिक्त विभिन्न प्रतिष्ठान तथा व्यावसायिक स्थलमा ३ हजार ४२४ पटक अनुगमन र निरीक्षण गरिएको विभागले जनाएको छ ।
संयुक्त कारबाहीबाट अवैध रोजगारी, व्यावसायिक स्थलको दुरुपयोग तथा अध्यागमन कानुन उल्लंघनमा सहयोग गर्ने व्यक्तिहरूको पहिचान र अनुसन्धान गर्न सहज भएको जकारियाको भनाइ छ ।
उनले अध्यागमन कानुन उल्लंघनसम्बन्धी गतिविधिबारे जानकारी भएमा विभागका आधिकारिक माध्यमबाट सूचना दिन सर्वसाधारणलाई आग्रह गरेका छन् । मलेसियाले आगामी दिनमा पनि प्रविधिको प्रयोग, गुप्त सूचना संकलन र विभिन्न सरकारी निकायबीचको सहकार्यलाई सुदृढ गर्दै अवैध आप्रवासन नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ ।