२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गजल, संगीत, चित्रकला र नाट्यकलाको संगम- 'मोती-लय'

Nada
२०८३ असोज १६ गते १६:५५
Shares
गजल, संगीत, चित्रकला र नाट्यकलाको संगम- 'मोती-लय'

काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठानले १६ असोजमा आयोजना गरेको 'मोती-लय' भव्यताका साथ सम्पन्न भएको छ ।

ncell

१६१औं मोतीजयन्तीका अवसरमा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीतमा जलजला परियारले मोतीराम भट्टको गजल गाएकी थिइन् भने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका ११ चित्रकारका मोतीराममाथिका प्रत्यक्ष चित्रकला, शिल्पी थिएटरका कलाकारद्वारा मोतीरामको जीवनी र गजलमा अभिनय प्रस्तुत गरिएको थियो। गायनमा तबलामा शम्भु श्रेष्ठ, गितारमा राजकुमार समाल र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।

यसरी नै कार्यक्रममा सातै प्रदेशबाट ३/३ जनाका दरले २१ जना नयाँ पुस्ताका गजलकारले विभिन्न राष्ट्रिय भाषामा समेत गजल वाचन गरेका थिए भने करिब एक दर्जन अग्रज गजलकारले पनि गजल वाचन गरेका थिए ।

कार्यक्रमलाई मूल आयोजक समिति सदस्यहरू बाबु त्रिपाठी, संगीता थापा, रूपक अलंकार र प्रज्वल अधिकारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा गजल अभियन्ता तथा 'मोती-लय' मूल आयोजक समिति सदस्य घनेन्द्र ओझाले राज्यको आधिकारिक निकाय त्रिभुवन विश्वविद्यालयले धेरै पहिला गजललाई स्वीकार गरी अपनत्व लिइसकेकामा अहिले नेपाल प्रज्ञाप्रतिष्ठानले पनि मोतीजयन्तीलाई 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाउने निर्णय गरेकामा धन्यवाद दिए ।

ओझाले मोतीराम आदिगजलकार मात्र नभएर आदिप्रकाशक, आदिसम्पादक, आदिजीवनीकार, आदिसमालोचक, चित्रकार, संगीतकार/गायकसमेत रहेका बताउँदै उनको सम्मानमा उनका रुचिका मुख्य ४ विधा नाटक, चित्रकला, संगीत र गजलवाचनको कार्यक्रमले गजल, सङ्गीत, चित्रकला र नाट्यकलाको संगम अभूतपूर्व भएको सुनाए । यसबाट मोतीरामको वास्तविक सम्मान भएको ओझाको भनाइ थियो । ओझाले नयाँ परिषद् गठनलगत्तै आफूले कुलपतिलगायत परिषद् सदस्यहरूसँग 'राष्ट्रिय गजल दिवस' घोषणाका लागि अनुरोध गरेको स्मरण पनि गराए ।

कार्यक्रम संयोजक तथा काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले नेपाली साहित्यको मूलधारको विधाका रूपमा स्थापित गजलको विकासका लागि र मोतीरामको सम्मानका लागि कुशे औंसीलाई 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाउने निर्णय गरिएको बताए । सापकोटाले आगामी वर्षदेखि हरेक मोतीजयन्तीमा गजल महोत्सव आयोजना गर्ने पनि बताए। उनले मन्त्रिपरिषद्‍बाट राष्ट्रिय गजल दिवस औपचारिक रूपमा निर्णय गराउने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रमका सहसंयोजक दलित, युवा एवं डिजिटलाइजेसन विभाग प्रमुख नवीन अभिलाषीले अब नेपाली गजलले व्यापकतासँगै आधिकारिक सम्मान पनि पाएको भन्दै सबैमा आभार प्रकट गरे ।

कुलपति कुमार नगरकोटीले अभियन्ता घनेन्द्र ओझासँगको संवाद उल्लेख गर्दै अब प्रतिष्ठानले नेपाली गजलको प्रवर्धनमा विशेष ध्यान दिएको बताए भने सचिव डा. रोशन शेरचनले वार्षिक कार्ययोजनामै राष्ट्रिय गजल दिवसका लागि उल्लेख गरेर हरेक वर्ष गजल महोत्सव गर्ने उल्लेख गरे ।

आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती (कुशे औंसी)लाई 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाउने निर्णय नेपाल प्रज्ञाप्रतिष्ठानको गत साउन २८ को पहिलो बैठककले गरेको थियो । उक्त निर्णयअनुसार २६ भदौमा आयोजना गर्ने भनिएको 'मोती-लय' भोटेकोसी बाढीका कारण १६ असोजका लागि सरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर