२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्म

Nada
जनक श्रेष्ठ
२०८३ असोज १७ गते ०६:००
Shares
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्म

केही वर्षअघिसम्म गाउँ घुम्न जाने पर्यटकले गन्तव्यबारे आफन्त, साथीभाइ वा चिनजानका मानिसबाट जानकारी लिन्थे । कुन ठाउँ जाने, कसरी पुग्ने र कहाँ बस्ने भन्ने जान्न मानिससँगै सोधपुछ गर्नुपर्थ्यो । कुनै गाउँको पर्यटनबारे अर्को गाउँ वा सहरमा जानकारी पुग्नु नै ठुलो प्रचार मानिन्थ्यो ।

ncell

समय फेरिएको छ । मोबाइलको स्क्रिनमा देखिने तस्बिर, भिडियो र सामाजिक सञ्जालका सामग्रीले नयाँ गन्तव्य चिनाउन थालेका छन् । इन्टरनेटसँगै कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले गन्तव्य छनोट गर्न, बाटो बुझ्न, बसाइका विकल्प खोज्न र भ्रमणको योजना बनाउनसमेत सहज बनाएको छ । 

तर लमजुङको ग्रामीण पर्यटन मोबाइलबाट सुरु भएको होइन । गाउँको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य, स्थानीय खानपान, परम्परा र मानिसको आतिथ्यलाई पर्यटनसँग जोड्ने स्थानीय प्रयासले यसको आधार तयार गरेको हो । प्रविधिले अहिले ती गाउँलाई पर्यटकसम्म पुर्‍याउने माध्यम भने बदलिदिएको छ ।

लमजुङको ग्रामीण पर्यटनको चर्चा गर्दा क्होलासोथार गाउँपालिका–३ घलेगाउँको नाम अगाडि आउँछ । पर्यटनको सम्भावना खोज्दै स्थानीयस्तरबाट सुरु भएको अभियानले पछि घरबासलाई आम्दानीको माध्यम बनायो । विसं २०५७ मा १२ घरबाट सुरु भएको घलेगाउँको घरबास अहिले धेरै घर र हजारौं पर्यटकसम्म पुगेको छ । यस अभियानका अगुवा हुन्– प्रेमबहादुर घले । 

गाउँमा रोजगारी र आम्दानीका अवसर सीमित हुनु तथा मानिस बाहिरिने क्रम बढेपछि घलेले गाउँमै सम्भावना खोज्न थाले । स्याङ्जाको सिरुबारीमा घरबासबाट स्थानीयले आम्दानी गरिरहेको जानकारी पाएपछि उनी त्यहाँ पुगेर अनुभव लिए । त्यसपछि घलेगाउँमा पनि त्यस्तै अभ्यास सुरु गर्ने योजना बनाए । त्यतिबेला साविक उत्तरकन्या गाविसका अध्यक्ष रहेका घलेले स्थानीयलाई संगठित गर्दै घरबासको अवधारणा अघि बढाए । स्थानीय स्रोत, सामूहिक सहभागिता र नेतृत्वको पहलमा घरहरूमा आवश्यक सुधार गरी पाहुना राख्ने वातावरण तयार पारियो ।

सुरुआती दिनमा गाउँ आउने पाहुनालाई ‘प्रेम घलेको पाहुना’ भन्ने गरिन्थ्यो ।  बिस्तारै गाउँलेले पाहुनाको स्वागत, सत्कार, स्थानीय संस्कृति प्रस्तुत गर्ने र घरबास सञ्चालन गर्ने तौरतरिका सिक्दै गए । घरबाससँगै गाउँको सरसफाइ, बाटोघाटो, खानेपानी, विद्युत्, सञ्चारलगायत आधारभूत सुविधा पनि सुधार हुँदै गए । घलेगाउँले क्रमशः आफ्नो पहिचान विस्तार गर्‍यो । गुरुङ संस्कृति, परम्परागत जीवनशैली, स्थानीय खानपान, प्राकृतिक सौन्दर्य र हिमाली दृश्य पर्यटकका आकर्षण बने । पर्यटन बढेसँगै स्थानीय उत्पादनको प्रयोग, सांस्कृतिक कार्यक्रम र सरसफाइमा पनि चासो बढ्यो । 

अहिले घलेगाउँमा ४२ घरमा घरबास सञ्चालनमा छन् । गत वर्ष करिब २५ हजार पर्यटक पुगेका थिए । एकैपटक धेरै पाहुना आउँदा एउटै घरको क्षमताले धान्न कठिन हुने अवस्था पनि छ । सडक पहुँच सुधार भइरहेको छ भने घरबासका संरचना, शय्या, कम्बल र गद्दालगायत सामग्रीलाई थप व्यवस्थित गर्ने प्रयास भइरहेको छ । 

घलेगाउँबाट फैलिएको घरबासको अभ्यास अहिले लमजुङका विभिन्न गाउँमा पुगेको छ । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ त्यसकै अर्को उदाहरण हो । सुरुमा आफन्त तथा साथीभाइबाट जानकारी पाएर पर्यटक आउने गरेकामा अहिले सामाजिक सञ्जालमार्फत गाउँबारे जानकारी लिएर आफैं सम्पर्क गर्ने पर्यटक बढेका छन् । 

सिउरुङका पर्यटनकर्मीले युट्युब, फेसबुक र टिकटकमार्फत गाउँको संस्कृति, वातावरण, घरबास र पर्यटकीय गतिविधिबारे जानकारी दिन थालेका छन् । अहिले त्यहाँ १८ घरमा घरबास सञ्चालनमा छन् । पदमार्ग, पर्यटन पूर्वाधार तथा स्थानीय संस्कृति र परम्पराको संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ ।

क्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार पर्यटनबाट स्थानीयस्तरमा आम्दानीका अवसर बढेका छन् र ग्रामीण महिलाको सहभागिता पनि बढिरहेको छ । घलेगाउँ र भुजुङ आउने धेरै पर्यटक भने एक रात बसेर फर्कने गरेका छन् । 

पर्यटकको बसाइ लम्ब्याउन पदमार्ग विकास, गुरुङ सांस्कृतिक पदमार्गको प्रवर्धन तथा नयाँ पर्यटकीयस्थलमा लगानी आवश्यक छ । सामाजिक सञ्जाल र श्रव्यदृश्य सामग्रीमार्फत प्रचारप्रसार, मेला, महोत्सव तथा मौसमी कार्यक्रमले पनि पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन सक्छन् । 

पर्यटनलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रयास पनि भइरहेको छ । कोदो, गुन्द्रुक, स्थानीय तरकारी तथा अन्य उत्पादन घरबासमा प्रयोग हुँदा किसानले बजार पाउने र पर्यटकले स्थानीय स्वाद लिन पाउने अवस्था बनेको छ । यसले पर्यटन र कृषिबीचको सम्बन्ध बलियो बनाएको छ ।

क्होलासोथार–३ घलेगाउँका घरबास सञ्चालक दीर्घराज घलेका अनुसार पर्यटकले गन्तव्य खोज्ने र छनोट गर्ने तरिका निकै बदलिएको छ । अहिले टिकटक, फेसबुक, युट्युब र एआईबाट जानकारी लिएर पर्यटक आउन थालेका छन् । तर मोबाइलमा देखेको गाउँ प्रत्यक्ष पुगेर संस्कृति, परम्परा, जीवनशैली र वातावरण अनुभव गर्ने चाहना भने उस्तै छ । 

पर्यटकीय मौसममा एकैपटक चारदेखि पाँच सयसम्म पर्यटक आउने अवस्था हुँदा कतिपय घरबासको क्षमताले धान्न कठिन हुन्छ । घरबास तथा पर्यटनबाट मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुने गरेको छ । आम्दानी सबै घरमा समान रूपमा पुगोस् भनेर घरबास सञ्चालकले पालैपालो पाहुना बाँड्ने व्यवस्था मिलाएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य रामकुमार श्रेष्ठका अनुसार लमजुङमा पदमार्ग र घरबास पर्यटनको सम्भावना राम्रो भए पनि पर्यटकलाई लामो समय रोक्ने पर्याप्त पर्यटन उत्पादन र गन्तव्यको विविधता विकास हुन सकेको छैन । ग्रामीण घरबासतर्फ विदेशीभन्दा आन्तरिक पर्यटकको आकर्षण बढिरहेको छ । लमजुङ हुँदै मनाङतर्फ जाने पदयात्री तथा हिमालचुली क्षेत्रतर्फ जाने पर्यटकलाई जिल्लामै केही दिन रोक्न सकिने सम्भावना छ । त्यसका लागि पदमार्ग, सडक, आवास तथा अन्य पर्यटन सेवा व्यवस्थित गर्नुका साथै नयाँ पर्यटन उत्पादन विकास गर्न आवश्यक छ ।

डिजिटल युगमा पर्यटकले सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गन्तव्यबारे जानकारी लिएर यात्रा तय गर्ने भएकाले लमजुङले पनि सोहीअनुसार पर्यटन प्रवर्धन गर्नुपर्ने श्रेष्ठको भनाइ छ । व्यवस्थित प्रचारप्रसार र पर्यटन व्यवस्थापन गर्न सके अहिले कम चर्चामा रहेका स्थानमा समेत पर्यटक पुर्‍याउन सकिन्छ । पर्यटकको संख्या बढाउनेसँगै गुणस्तरीय सेवा र बढी खर्च गर्ने पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता छ ।

लमजुङमा भुजुङ, राइनासकोट, पसगाउँ, नरुवाल, भुस्मेगाउँ, सिङ्दी गाउँ, तुर्लुङकोट र घेर्मुललगायत करिब दुई दर्जन स्थानमा घरबास सञ्चालनमा छन् । गुरुङ, नेवार, तामाङ, मगर र दुरा समुदायका घरबास पनि सञ्चालनमा छन् । ग्रामीण बस्तीमा घरबाससँगै स्थानीय संस्कृति, पदमार्ग, कृषि उत्पादन र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । 

पर्यटकका अनुभवले पनि पर्यटनमा आएको परिवर्तन देखाउँछन् । दोर्दी गाउँपालिका–४ नौथरसेराका लक्ष्मण गुरुङ साथीभाइ तथा आफन्तबाट जानकारी पाएर लमजुङका पर्यटकीय गाउँ र घरबास पुगेका हुन् । स्थानीयको स्वागत, बिदाइमा गाउने गीत, संस्कृति तथा स्थानीय परिकारले उनलाई आकर्षित गरेको छ । कोदोको रोटी, गुन्द्रुक, स्थानीय कुखुरालगायत परिकारको स्वाद लिन पाएका छन् । 

काठमाडौंबाट घलेगाउँ पुगेकी एरिना महर्जनका लागि भने सामाजिक सञ्जाल नै गन्तव्यसम्म पुग्ने पहिलो माध्यम बन्यो । सामाजिक सञ्जालमा घलेगाउँका तस्बिर तथा भिडियो देखेपछि उनले घरबास, बाटो, बसाइ, स्थानीय संस्कृति र खानपानबारे जानकारी लिएर भ्रमणको योजना बनाइन् । गाउँ पुगेपछि हिमाल, गुराँस, गुरुङ संस्कृति, परम्परागत घर तथा स्थानीय परिकारले उनलाई आकर्षित गर्‍यो । 

लमजुङको पर्यटन यात्रा हेर्दा सूचना पाउने माध्यम बदलिएको स्पष्ट देखिन्छ । पहिले आफन्त र साथीभाइले गाउँको परिचय गराउँथे । अहिले मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट र एआईले त्यही काम गरिरहेका छन् । तर माध्यम बदलिए पनि पर्यटकले खोज्ने अनुभव उस्तै छ– स्थानीय मानिसको आत्मीयता, मौलिक संस्कृति, स्थानीय खाना, प्रकृति र गाउँको जीवनशैली । 

त्यसैले अबको पर्यटन प्रवर्धन गन्तव्यका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पुर्‍याउने विषयमा मात्र सीमित हुन सक्दैन । पर्यटकलाई गाउँसम्म पुर्‍याएपछि केही दिन बढी बस्ने वातावरण बनाउनु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु, पदमार्ग र पूर्वाधार सुधार गर्नु तथा पर्यटनबाट प्राप्त आम्दानीलाई गाउँकै उत्पादन र जीवनसँग जोड्नु पनि उत्तिकै आवश्यक छ ।

गाउँको आँगनमा सुरु भएको पर्यटन अहिले मोबाइलको स्क्रिन हुँदै पर्यटकको प्रत्यक्ष अनुभवसम्म पुगेको छ । प्रविधिले पर्यटकलाई गाउँ चिनाउने माध्यम बदले पनि गाउँको मौलिकता, स्थानीय संस्कृति, खानपान, प्रकृति र मानिसको आतिथ्य नै ग्रामीण पर्यटनको मूल आधार हुन् । अबको चुनौती यही मौलिकता जोगाउँदै प्रविधिबाट सिर्जित पहुँचलाई स्थानीय अवसर र आम्दानीमा रूपान्तरण गर्नु हो । 

सम्बन्धित खबर