२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

कथा : करुणा

Nada
यज्ञराज जोशी
२०८३ असोज २४ गते ०६:००
Shares
कथा : करुणा

वैशाखको उखरमाउलो गर्मीले टीकापुर तातेको थियो । सारीको सप्कोले निधारको पसिना पुछ्दै आमा रोटी पकाइरहेकी थिइन् । बा पनि अगेनाको छेउमा अर्को चुलोमा दूध तताइरहेका थिए । शब्द बन्द भए पनि बाआमाका आँखाले दिनभरको थकान बोलिरहेका थिए । भैंसीपालन बाको पेसा थियो । त्यही आम्दानीबाट उनले हामीलाई हुर्काएका र पढाएका थिए ।

ncell

मलाई जन्म दिएपछि अत्यधिक रक्तस्रावका कारण आमा बित्नुभएको थियो । मलाई बचाउनकै लागि बाले पहिलोपटक भैंसी किनेका थिए रे ! पछि त्यही उनको व्यवसाय बन्यो । आमाको बर्खी सकिएपछि बाले अर्को बिहे गरे ।

सौतेनी आमा कहिल्यै पराई बनिनन् । जन्म दिने आमाको अनुहारसम्म थाहा थिएन । त्यसैले कान्छी आमाको मातृवात्सल्य नै मेरा लागि सबै थोक थियो । आमा म जन्मिँदै बित्नुभएको कुरा जुँगाका रेखी बसेपछि मात्र थाहा पाएको थिएँ ।

मलाई बचाउन बाले किनेको फुर्की भैंसी फापिछ । सात जत्कालसम्म हाम्रो गोठमा बसी । उसले पाँच पाडापाडी जन्माई । दूध बेचेर बाले घरखर्च चलाए । एउटी पाडी घरमै हुर्काए । जवान भएपछि त्यसको नाम कैली राखियो । कैलीले पनि आमाकै गोठमा छ पाडापाडी जन्माई । पछि बाले बुढ्यौली लागेकी कैली बेचेर तारूलाई हुर्काए । तारूले पनि ६ पाडापाडी जन्माई । यसरी फुर्की र उसका सन्तानले हाम्रो परिवारको आर्थिक गर्जो टार्दै गए । दूध दिए, आफू बेचिएर पैसा पनि दिए । हाम्रो घरको खुसी र अभाव दुवैसँग तिनको सम्बन्ध जोडियो ।

कान्छीआमाले मायाको कमी हुन दिइनन् । तर, दूध दिएर मेरो प्राण जोगाउने फुर्कीका सन्तान मलाई औधी प्रिय लाग्थे । तिनको हेराइमै मेरो मन लोलाउँथ्यो । तारू र म त झन् साथीझैं थियौं । म गोठालो जाने भइसक्दा तारू मेरै अगाडि हुर्किएकी थिई ।

म दिउँसो स्कुल जान्थेँ । बिहानबेलुका कैली र तारूलाई सडककिनारै चराउँदै टीकापुर पार्कछेउसम्म पुग्थेँ । त्यहाँ मजस्तै अरू गोठाला पनि आउँथे । म साथीहरूसँग रमाउँथेँ । तारू भने आमाको पछिपछि बुर्कुसी मार्दै खेल्थी । बेला–बेला घाँस चर्थी र झुक्याएर आमाका थुनसम्म मुख पुर्‍याउँथी । कैलीले खुट्टा उठाएर लात्ती हानेझैं गरी उसलाई रोक्थी । दूध चुस्न नपाएपछि तारू फेरि आमाकै अगाडि लागेर चर्न थाल्थी ।

बिहान–बेलुका बाले दूध दुहुँदा तारू मुखमा फिँज आउने गरी कैलीको दूध चुस्थी । दूध मिठो लागेर होला, बेला–बेला जिब्रोसमेत पड्काउँथी । तारूले आमाको दूध चुसिरहेको हेर्न मलाई खुब रमाइलो लाग्थ्यो ।

बाले दूध तताएर सधैं एक कचौरा मलाई दिन्थे । बिहान दूध खान नपाएको दिन मलाई पनि तलतल लागिरहन्थ्यो ।

तारू हुर्केपछि बाले कैली बेचिदिए । अब कैलीको ठाउँमा तारूलाई चराउन थालेँ । उता तारूका अगाडि पनि उसका सन्तान चर्न थालेका थिए । तिनले लुकीलुकी दूध चुस्न खोज्थे । पहिले कैलीले खुट्टा उठाएझैं तारू पनि प्रतिकार गर्थी । भगवान्को सृष्टि विचित्र छ । समयको बहावसँगै सबैले आफ्नो भूमिका बदल्नैपर्छ ।

समय बित्दै गयो । दाह्रीजुँगाले मेरो अनुहार छोपियो । तारू पनि बुढी भइसकेकी थिई । अब बाले तारू पनि बेच्ने कुरा गरे ।

सानो छँदा बाले भैंसी बेचेको दिन म खुसी हुन्थेँ । उनको हातमा पैसाको मुठो देख्दा हर्षित हुन्थेँ । किनकि भैंसी बेचेको दिन बाले मलाई पनि पचास रुपैयाँ दिन्थे । त्यो पैसा समातेर घन्टौं आँगनमा बुर्कुसी मार्थें । पछि पिपलमेट चकलेट किन्न पसलतिर दगुर्थें । पचास रुपैयाँको चकलेटले महिनाभरि पुग्थ्यो । म महिनाभर दंग पर्थें ।

तर यसपटक बाले तारू बेच्ने कुरा गर्दा मन अमिलो भयो । तारूका तीन पुस्ताका लाम्टा चुसेर म पच्चीस वर्षको लक्का जवान भइसकेको थिएँ । आमाको छाती चुस्न पाइनँ, तर बाले मलाई बचाउने यही तारूका सन्तान हुन् भन्दा तिनका चार थुन आमाको छातीतुल्य लाग्थे ।

बाले अगेनाछेउ आमासँग तारू बेच्ने कुरा गरिरहेका थिए । मलाई भने तारूले गोठमा आफ्नी छोरीसँग बाका कुरा सुनेर बिलौना गरिरहेकी होली भन्ने लाग्यो । मन थाम्न नसकेर अगेनाछेउ गएँ ।

‘बा, तारूलाई नबेचौं ।’ 

बा जंगिए, ‘भीमलालको ऋण तिर्नै सक्या छैन । तीन वर्ष भयो । वचन लगाइसक्यो । वचनको थैली भर्नुभन्दा बेलैमा ऋण तिरेर साहुको थैली भरिदिनु बुद्धिमानी हुन्छ । आखिर एक दिन तिर्नैपर्छ । अर्कोपटक वचन राख्ने बाटो पनि खुला राख्नुपर्छ । तैंले नबेच् भनेर हुन्छ ? अझै गृहस्थीको झमेला बुझ्ने बेला भएको छैन बाबु !’ 

बाको बरबराहट रोकिएन । उनले जीवनभर भोगेको दुःख सुनाउन थाले, ‘मेरो जीवनमा सुखका आभा स्मृतिमा मात्रै छन् । अभावको भकारी जहिल्यै रित्तो रह्यो । निधारका चिन्ताका रेखा कहिल्यै मेटिएनन् । सानैमा बाले मलाई टुहुरो बनाए । पछि तेरी आमाले एक्लो पारी । मेरो भाग्य पनि दूध नहालेको चियाजस्तै फिक्का रहेछ । न भेटिने गन्तव्य छ, न मेटिने दुःख । यति दुःख गरेर पढाएको तैंले केही इलम गरेर बुढेसकालमा सुखको सास फेराउँछस् कि भन्ने अन्तिम आशा छ ।’ 

बाका मर्मस्पर्शी शब्दले म गलेँ । केही बोल्न सकिनँ । तारू बेच्न मन थिएन । फेरि हिम्मत जुटाएर भनेँ, ‘बा, पशुबजारमा नबेचौं । तारू बुढी भइसकी । अब उसलाई पाल्न कसैले किन्दैन । ट्रकमा खाँदेर काट्न काठमाडौं लैजान्छन् । यत्रो वर्ष हामीलाई दूध दिएकी तारूलाई पैसामा बेचेर काट्न पठाउनु पाप हो । बुढेसकालमा पापको भारी नबोक्नू बा ।’ 

बाले मेरो कुरा सुनेनन् । 

भोलिपल्ट बिहानै टाउकोमा लुंगी बेरेका, हाफपाइन्ट र टिसर्ट लगाएका तीनजना खरिदे आए । तारूको मोलमोलाइ सुरु भयो । बाले पचास हजार मूल्य तोके । खरिदेले बुढी भैंसीमा त्यति मूल्य हालेर नकिन्ने अड्डी कसे ।

मेरा लागि बहुमूल्य तारू मूल्यहीन बन्दै मोलमोलाइमा थिई ।

बा पैंतालिस हजारमा झरे । चालीस र पैंतीस हजारमा झर्दा पनि कुरा मिलेन । अन्त्यमा तीस हजारमा बेचिदिए ।

बा तारू बाँधेको किलाबाट दाम्लो खोल्न गोठ पसे । तारूका आँखा रसाएका थिए । उसले अन्तिमपटक गन्जी लगाएको बाको नांगो पाखुरामा प्रेमपूर्वक चाटी । बाले हरियो घाँस, पानी र कुँडो दिँदा पनि तारू त्यसरी नै चाट्थी । बेचिन लाग्दा पनि उसले आफ्नो प्रेम र धर्म बिर्सिन ।

मचियामा बसेका लालमनी बाजेले भने, ‘प्रजापति, अर्को दाम्लोमा बाँधेर दे । नत्र उसलाई बाँधेकै दाम्लोसँग गोठको श्री जान्छ ।’ 

आमा अर्को दाम्लो खोज्न थालिन् । बाले गोठभित्रैबाट ठाँटीको दाहिने कुनामा भएको नयाँ दाम्लो ल्याउन भने । आमाले जुटको दाम्लो ल्याइदिइन् । बाले त्यही तारूको घाँटीमा डोर्‍याइदिए ।

‘दुमो झिकिस् कि नाइँ काइँला ?’ लालमनी बाजेले फेरि सोधे ।

‘म हुस्सु त भुसुक्कै भुलेँ, काका,’ बाले भने ।

तारूको गर्धनका केही रौं उखेलेर हजारीको गर्धनमा राखिदिए । अनि भने, ‘मेरो गोठ कहिल्यै रित्तो नहोस् । सधैं तेरै सन्तानबाट यसैगरी फलिफाप भइरहोस् । गोठका किला कहिल्यै खाली नरहून् ।’ 

तारूले बेला–बेला मेरो, बाको, आमाको र आफ्नी छोरीको मुखमा हेर्दै थिई । उसले त्यसअघि कहिल्यै त्यसरी हेरेकी थिइन । बिहानपख कहिल्यै नबोल्ने तारू त्यस दिन मसिनो र रुन्चे स्वरमा ब्वाइँऽऽ ब्वाइँऽऽ गरिरहेकी थिई । सायद छुट्टिनुपर्ने आभास भइसकेको थियो । गोठकी सानी हजारीका आँसु पनि तप्किरहेका थिए । आमाबाट छुट्टिनुपर्दाको पीडा उसले पनि आवाजमा पोखिरहेकी थिई ।

बाले दाम्लो खरिदेको हातमा थमाइदिए । उनलाई तारूसँग छुट्टिँदाको कुनै पीडा थिएन । मेरो मन भने आगोको भुंग्रोमा परेको थियो । आँखाभरि आँसु थिए । तारूलाई बिदाइको हात हल्लाउन सकिनँ । कोठाभित्र गएर घ्वाँघ्वाँ रुन थालेँ ।

एक घन्टापछि पनि मन थाम्न सकिनँ । मोटरसाइकल कुदाएर तारू भेट्न टीकापुर पूर्वको पशुबजार पुगेँ । फलामे किलामा बाँधिएकी तारू वैशाखको बिहानी घाममा जिब्रो निकालेर हपहप गरिरहेकी थिई । मलाई देख्नेबित्तिकै बोल्न खोजेझैं गरी ।

सायद उसलाई म फुकाएर घर लैजान्छु भन्ने आशा थियो । तर मसँग त्यो सामथ्र्य र अधिकार थिएन । छेउमा तीनवटा ट्रक थिए । बूढा, रोगी, खेत जोत्न नसक्ने र दूध दिन छोडेका भैंसीहरू पालैपालो ट्रकमा खाँदिँदै थिए । मेरी मातातुल्य तारूको पनि पालो आयो । वृद्ध शरीरले सजिलै ट्रकमा उक्लिन सकेन । खुट्टा लगलग काँप्न थाले ।

एकजनाले लौरोमा बाँधेको मसिनो डोरीले उसलाई हिर्कायो । तारू थरथर काँपी र सकीनसकी ट्रकभित्र खाँदिई । नाकको डोरी फलाममा कसियो । पुच्छर पनि बाँधेर झुन्ड्याइयो । आफ्नै फाइदाका लागि अबोध प्राणीमाथि क्रूरता भइरहेको थियो । ट्रकलाई पाल र तन्नाले छोपियो । हेर्दाहेर्दै मेरी तारू नारकीय पिँजडाभित्र कैद भइसकेकी थिई ।

ट्रकहरू धुलोधुवाँ उडाउँदै खडक चोकछेउको मूल सडकमा पुगे । मलाई घर जान मन लागेन । तिनै ट्रकको पछिपछि मोटरसाइकल कुदाइरहेँ । लम्की हुँदै चिसापानी पुगेका ट्रकमा खाँदिएकी तारूलाई कर्णाली पुलबाट अन्तिमपटक हात हल्लाएँ । रुँदै घर फर्किएँ ।

दिन बित्यो, हप्ता बित्यो । तर तारूको सम्झना मनबाट हटेन । एक रात ऊ सपनामा आई र काटिनुपर्दासम्मको व्यथा सुनाउन थाली ।

‘सानो मालिक, हामीलाई पनि बाँच्ने इच्छा हुन्छ । हाम्रा पनि सन्तान छन् । हामीभित्र पनि मातृवात्सल्य छचल्किन्छ । तर मानव हृदयमा हामीप्रति अंकुरित प्रेम क्षणिक र स्वार्थले भरिएको हुन्छ । दूध दिँदासम्म हरियो घाँस, कुँडो र पानी दिन्छन् । त्यो सेवाभित्र हामीबाट बढी दूध लिने स्वार्थ मिसिएको हुन्छ । दूध सुकेपछि प्रेम गर्न छोड्छन् । निरस पराल र भुसको भरमा प्राण अड्याउनुपर्छ । फेरि त्यही प्रेम पाउन ब्याउनैपर्छ ।’ 

‘हामी भने मालिकप्रति कुभाव राख्दैनौं । आफ्ना बच्चालाई भरपेट दूध चुसाउन नपाउँदै मालिकको ठेकी दूधले भरिदिन्छौं । उमेर हुँदा दूध, दही, मोही, मख्खन, घिउ र पनिर दिँदैमा हाम्रो जीवन बित्छ ।’

‘अब सुन, टीकापुरबाट म रेटिँदासम्मको कथा । हामी ट्रकभित्र खाँदिएका थियौं । बाँधिएको पुच्छर सुन्निएर दुखिरहेको थियो । नाकको डोरीले घाउ बनाएको थियो । शरीर थकाइ र पीडाले गलेको थियो । बाहिरको हावा भित्र पस्न पाउँदैनथ्यो । एक–अर्काको शरीरको ताप र सासको बाफले पसिनाको खोलो बग्थ्यो । बस्दा धेरै ठाउँ ओगटिने भएकाले उभ्याएरै राखिन्थ्यो । हामीलाई बेला–बेला लौरोले हिर्काइन्थ्यो । चौबीस घण्टाको यात्रामा कतै आराम गर्न पाइएन । घाँटी सुक्दा पानी र भोकले छटपटाउँदा घाँसपरालको त्यान्द्रोसमेत दिइएन ।’

‘बाटोमा प्रहरीले ट्रक खोलेनन् । हेरे पनि नदेखेझैं गरे । पशु अधिकारकर्मी पनि पैसाको पासोमा परे । बूढो फिर्केले पीडा सहन नसकेर ट्रकमै प्राण त्याग्यो । कष्ट सहेर काठमाडौं पुगेकी म आराम गर्न नपाउँदै बलम्बुको वधशालामा रेटिएँ । त्यसपछि मःमका लागि प्याक भएर काठमाडौंका होटलमा पुगेँ । म त मेरी आमा गएकै देशमा पुगेँ, सानो मालिक ! तिमीले म बेचिँदा झारेका आँसु स्वर्गमा सम्झनाको क्यानभासमा सजाएर राखेकी छु ।’ 

म झल्याँस्स ब्युँझिएँ । निधार र छातीमा पसिनाका थोपा चिसा लागे । तारूको सम्झनाले घाँटी अवरुद्ध भएको थियो । एक अम्खोरा पानी पिएपछि केही शीतल भयो । गोठमा गएँ । तारूकी छोरी हजारी ओगार काढ्दै थिई । एक मुठो घाँस दिएँ । जुरुक्क उठेर उसले घाँस खाई । त्यसपछि मात्रै मन केही हलुका भयो ।

बाले साठी वर्षको उमेर पार गरे । म लोकसेवा उत्तीर्ण गरेर अधिकृत भएँ । उनको सपना पूरा भयो । बाले बुढ्यौलीको ख्याल गर्दै भैंसीपालन त्यागे । पहिले दूध बेच्ने बा अब किनेर खान थाले । तर हाम्रो मनबाट भैंसीप्रतिको प्रेम हटेको थिएन ।

एक दिन कार्यालयको कामले काठमाडौं पुगेको थिएँ । दिनभर सिंहदरबारभित्र डुल्दा साँझ भोकले पेट बटारिएको थियो । अनामनगरस्थित पूर्वीगेटछेउको खाजा पसलमा छिरेँ । बफ मःमको बासना नाक हुँदै आन्द्रासम्म पुग्यो । मुखमा पानी रसाउन थाल्यो ।

मैले कहिल्यै बफ मःम खाएको थिइनँ । त्यस दिन खान मन लाग्यो ।

‘साउनी, एक प्लेट मःम ल्याउनुस् त !’ 

केहीबेरमै तातो बाफ उडिरहेको मःम आयो । काँटाले घोचेर चटनीमा लपक्क पार्दै खाएँ । चटनी पिरो लागेन ।

‘साउनी, पिरो चटनी पनि ल्याइदिनुस् न !’ 

उनले हातको इसाराले पिरो चटनी राखिएको बट्टा देखाइन् । चटनी मिसाएर अर्को मःम मुखमा राखेँ । 

तर मःम खाइरहँदा अनायासै तारूको सम्झना आयो । मेरी गोठकी तारू, जसका लाम्टा चुसेर म हुर्किएको थिएँ । बाले वर्षौंअघि उसलाई खरिदेलाई बेचेका थिए । उनीहरूले तारूलाई मःम बनाउन टीकापुरको हाटबजारबाट ट्रकमा खाँदेर काठमाडौं ल्याएका थिए ।

मःम खाँदै जाँदा तारूको सम्झनाले मन पिरोल्न थाल्यो । कतै यो मःम पनि मेरी तारूकै त होइन ? मनमा यही प्रश्न उठिरह्यो । जति खाएँ, उति छातीको धड्कन बढ्यो । वाकवाकी लाग्लाजस्तो भयो । आधा मःम प्लेटमै छोडेर काउन्टरमा पुगेँ । 

‘साउनी, मःमको कति ?’ 

‘एक सय बीस रुपैयाँ भयो बाबु !’ 

पैसा तिरेर बाहिर निस्किएँ । त्यहाँबाट बस चढेर सिधै सुन्धारास्थित होटलतिर लागेँ । त्यही दिनदेखि मःमको मोहमा मिसिएको विवेकहीन पशुहिंसा चटक्कै त्यागिदिएँ । 

सोचिरहन्छु–पशुहिंसा मानव चेतनाको संकुुचन हो । त्यस हिंसाको सबैभन्दा ठूलो प्रतिरोध करुणाभाव नै हो ।

अनवरत तारू भैंसीलाई सम्झिँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहन्छु । 

(नवोदित कथाकार यज्ञराज जोशीको शनिबार विमोचन हुने कथासंग्रह ‘बैशाखी’बाट ।)

सम्बन्धित खबर