२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘पलेँटी गजल मुशायरा’ जमाए सन्तोष र लालकाजीले

shivam cement
२०८१ मंसिर २२ गते १८:४४
Shares
‘पलेँटी गजल मुशायरा’ जमाए सन्तोष र लालकाजीले

आँखा जुधाउने पो बानी रहेछ तिम्रो
मान्छे भुलाउने पो बानी रहेछ तिम्रो ।

गजलकार घनेन्द्र ओझाका यी शेर विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो । विशिष्ट साधक, स्रष्टाहरूको उपस्थितिमा सम्पन्न मुशायरामा अर्का गजलकार तथा गायक लालकाजी श्रेष्ठ गुञ्जिए आँचलकुमार शर्माका यी शब्दमार्फत :

कुवा हुन्थ्यो र जल कंचन हुने गथ्र्यो कुनैबेला
कुवामै जूनको मापन हुने गथ्र्यो कुनैबेला ।

नेपाल गजल प्रतिष्ठानको आयोजनामा शनिबार ‘पलेँटी गजल मुशायरा’ सम्पन्न भएको छ । मुशायरामा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठले ४/४ वटा गजल प्रत्यक्ष गाए ।

गजलकार भोजराज घिमिरेका गजलमा प्राण दिँदै सन्तोष यसरी गुञ्जिए :

जिन्दगीमा आफ्नो नआएर जान्छु
यो लहडको बस्ती जलाएर जान्छु ।

उता, लालकाजीले गजलकार राधा कणेलका शब्दलाई न्याय गरे :

आज मौसम अचानक मात्तिएको छ
कुन्नि केको नशा उसले पिएको छ ।

यसका अतिरिक्त गायकद्वयले प्रमोद थापा, अनजान यात्री, लालकाजी श्रेष्ठ र लोकेश संघातका गजल गाएका थिए ।

यस्ता दमदार शेरहरूमा गायक आफैंले हारमोनियम नचाए भने गीतारमा राजकुमार समाल, तबलामा रोशन फुयाँल र बाँसुरीमा धनबहादुर गुरुङले साथ दिए ।

अन्तर्राष्ट्रिय नेपाली गजल मंच र गोल्डेन क्रिएसनको सहकार्य रहेको कार्यक्रममा अग्रज गजलकारहरू ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, करुण थापाको उपस्थिति थियो भने अग्रज स्रष्टाहरू डा. विमल कोइराला, एस. पी. कोइराला, चूडामणि देवकोटा, केशव भट्टराईलगायतको सद्भावपूर्ण सहभागिता थियो ।

प्रसिद्ध गीतकार, समालोचक प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनमा यस्ता कार्यक्रमले खुसी थप्ने बताए । गजलकार ज्ञानुवाकर पौडेलले गजललाई गायनमा ल्याउने प्रयासको सराहना गरे ।

गजलकार घनेन्द्र ओझा र संगीतकार सन्तोष श्रेष्ठले वि. सं. २०८०–२०९० को दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरेको सन्दर्भ जोड्दै सहजीकरणमा रहेका आँचलकुमार शर्माले अबका दिनमा नियमित यस्ता कार्यक्रम भइरहने जानकारी दिए ।

सम्बन्धित खबर