२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि किर्ते आरोप, भ्रष्टाचारको मुद्दा दायर

draupadi film
छबि सापकोटा
२०८१ मंसिर २५ गते ०६:३५
बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि किर्ते आरोप, भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा सिलवालविरुद्ध मुद्दा दायर गरेको हो । 

अयोगका प्रवक्ता नरहरि घिमिरेले अध्यक्ष सिलवालले नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा पदमा बहाल रही राष्ट्रसेवक पदको दुरुपयोग गरेको भन्दै आरोप लागेको जानकारी दिए । 

सिलवालले पर्साबाट २४ फागुन २०३२ मा लिएको नागरिकता र काठमाडौंबाट १७ वैशाख २०६६ मा  लिएको नागरिकताको प्रतिलिपिमा फरकफरक मिति उल्लेख गरिएको आयोगले जनाएको छ । पर्साबाट नागरिकता लिँदा १५ साउन २०१५ अनुसार उमेर १६ वर्ष उल्लेख भएको तर १७ वैशाख २०६६ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्दा नागरिकतामा जन्म मिति २२ कात्तिक २०१६ देखिएको आयोगको भनाइ छ ।

प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेर हदबाट अनिवार्य अवकाश हुनुपर्ने भए पनि संशोधन गरेको जन्म मितिकै आधारमा पदमा बसेको देखिन्छ । सिलवालले १६ साउन २०८० देखि ६६औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो ९ महिनादेखि पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

यस्तै, त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा समेत जन्म मिति १५ साउन २०१५ उल्लेख भएको र नोकरी तथा वैयक्तिक विवरण (सिटरोल)मा समेत ट्रान्सक्रिप्टको जन्म मिति उल्लेख छ । निजामती किताबखानामा पेस गरेको विवरणअनुसार निजामती सेवामा १ साउन २०४३ देखि राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्ति लिँदासमेत उनको जन्म मिति १५ साउन २०१५ नै रहेको अख्तियारले जनाएको छ ।

यसरी झुटा विवरण पेस गरी लाभ लिएको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ । यस्तै, सिलवालले १५ साउन २०८० देखि हालसम्म लिएको लाभ सुविधा रकम बराबरको ३६ लाख ६२ हजार १५४ रुपैयाँ बराबर असुल उपर माग दाबी अख्तियारले गरेको छ । 

सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत÷असुल उपर हुन माग दाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

उक्त आरोपपत्र दर्ता भएसँगै सिलवाल स्वतः निलम्बनमा परेका छन् । सिलवाल नेपाल सरकारका पूर्वसचिव हुन्  । उनी २८ चैत २०७० देखि ६ मंसिर २०७२ सम्म गृह सचिव थिए ।

ADV

सम्बन्धित खबर

Advertise