काठमाडौं : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ । मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो ।
५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमा छ । सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
कर्णालीले यसअघि ४ खेलमा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, काठमाडौंसँग ३ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराएको कर्णालीले चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको हो ।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक रन बनाए । उनीसँगै विलियन बोसिस्टो २ रनमा अविजित रहे । पावरप्लेमा २ विकेटको क्षतिमा २७ रन बनाएको कर्णालीका लागि तेस्रो विकेटका लागि वाल्टनले गुल्सन झासँग ६० रनको अर्धशतकीय साझेदारी गरे । तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका चाड्विक वाल्टनले ४२ रन बनाए ।
पोखरा एभेन्जर्सका लागि विपिन खत्री, कुशल भुर्तेल र सागर ढकालले १-१ विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङ गरेको पोखराका लागि ओपनर दिनेश खरेलले सर्वाधिक २६ रन बनाए।
अर्का ओपनर एन्ड्रिज गोउसले २५ रन जोडे । कप्तान कुशल भुर्तेलले १० रन बनाए । रेमोन रिफरले २० रन बनाए भने विपिन खत्रीले १० रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १६.३ ओभरमा १०३ रनमा पोखरालाई समेट्न कर्णालीका तीव्र गतिका बलर विलियन बोसिस्टोले सर्वाधिक ६ विकेट लिए ।
कर्णाली याक्सका लागि विपिन शर्मा, युनिस विक्रम सिंह र सोमपाल कामीले समान १-१ विकेट लिए । दशौं दिनको पहिलो खेल सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिच हुनेछ। दोस्रो खेल काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबिच हुनेछ।