सहबान अन्सारी/नवलपरासी
नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १६ सुर्यनगरमा सञ्चालित पाँचौं संस्करणको सुर्यनगर गोल्डकपको उपाधि बागमती युथ क्लब सर्लाहीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती युथ सर्लाहिले नवलपरासी-११ लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
खेलको निर्धारित समयमा गोल नभएपछि थप गरिएको अन्तिम समय ९ औं मिनेटमा बागमती युथले १ गोल गरेको थियो र सोही गोल नै निर्णायक गोल बन्न पुगेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५ लाख र द्वितीय हुने टिमलाई नगद ३ लाख साथै खेलाडीहरुलाई प्रमाणपत्र ,ट्रफी र मेडल प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा विभिन्न शीर्षकमा उत्कृष्ट खेलाडीहरुलाई नगद, प्रमाण पत्र, मेडलसहित सम्मान गरिनुका साथै प्रतियोगिता सम्पन्न गर्नका निम्ति सहयोग पुर्याउने सम्पूर्ण सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सुर्यनगर गोल्डकपमा कुल १२ टिमहरुको सहभागिता रहेको थियो ।
बर्दघाट नगरपालिकाको संरक्षत्व एवं नवयुवा क्लबको आयोजना रहेको समापन कार्यक्रममा भिमकाजी गुरुङको अध्यक्षता तथा प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरिले खेलकुदको माध्यबाट युवाहरुलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउनका निम्ति प्रदेश सरकारले खेलकुदको क्षेत्रमा समेत ठूलो धनराशि खर्च गरेको बताए । खेलाडीको प्रोत्साहन गर्दै दक्ष खेलाडी उत्पादन गरी समग्र खेलकुद पुर्वाधार विकासका लागि प्रदेश सरकार मार्फत प्रत्येक पालिकाहरुमा ६० देखि ७५ लाख रकम विनियोजन गरिएको उनले बताए ।
खेल क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखी प्रत्येक पालिकाहरुमा आधुनिक रंगशाला निर्माणको योजना अनुरुप प्रदेश सरकार अघि बढेको बताउँदै मन्त्री चौधरीले बर्दघाट नगरपालिकाले पनि रंगशाला निर्माणका लागि उपयुक्त ठाउँ छनोट गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले लगानी गर्ने बताए ।
दक्ष खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा नगरपालिकको संरक्षकत्वमा जारी सुर्य नगर गोल्डकपले निकै ठूलो योगदान पुर्याएको बताउँदै मन्त्री चौधरीले सुर्यनगर रङ्गशालामा स्थायी प्यारापिट निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
प्रदेश सरकारले बर्दघाट नगरपालिकालाई खेलकुदका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेकोमा नगरपालिकाले समयमै उक्त रमक खर्च गर्न नसक्दा रकम फ्रीज हुने अवस्था रहेको मन्त्री चौधरीले बताए ।
प्रदेश सरकार स्थापना दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय मार्फत राष्ट्रका लागि योगदान पुर्याउने खेलाडीहरुलाई प्रदेश सरकारले २५ लाख बराबरको रकम पुरस्कार स्वरुप प्रदान गरिएको उनले जानकारी बताए ।
नेपाल समृद्धिको दिशा तर्फ अघि बढेको बताउँदै मन्त्री चौधरीले खेलकुद विकासका माध्यमबाट पनि राष्ट्र निर्माणका लागि सबैजना एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्याल, अखिल नेपाल फुटवल संघका केन्द्रीय सह महासचिव प्रकाश पङ्गेनी नवयुवा क्लबका संस्थापक अध्यक्ष ईन्द्र गुरुङ, नगरपालिका उप प्रमुख मायादेवि पौडेल, बर्दघाट-१ का वडा अध्यक्ष मोतिलाल सुनार, बर्दघाट २ का अध्यक्ष दया दर्लामी मगर, नेपाली काङ्ग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा कर्मी, स्थानीय समाजसेवी, खेल प्रेमी लागायत स्थानीय सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies