काठमाडौं : नेपाललाई हराउँदै बंगलादेश एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले पाखा लगाएको हो ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।
वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले ५५ रनको लक्ष्य पेश गरेको थियो । ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
यसअघि नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । बंगलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोडेको थियो । नेपालका लागि सावित्रा धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पुजा महतोले ९ रन थपेको खेलमा एलिसा कुमारी यादवले ८ रन जोडिन् ।
बंगलादेशको जितमा फाहोमिदा छोयाले नटआउट २६ र मोहम्मद इभाले १८ रन बनाइन् । इभा र छोयाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । कुशुम गोदारले एक विकेट लिएपनि हार भने टार्न सकिनन् ।