-भोजराज घिमिरे
म उसै छँदै थेँ पागल, नहुँदा तिमी नजिकमा
नभई भएछु घायल, नहुँदा तिमी नजिकमा
नलजाई उड्छ कसरी ? नछुँदै पवन बदनले
मसँगै अझै छ आँचल, नहुँदा तिमी नजिकमा
न वसन्त झुल्छ तिम्रो, न शरद् खुलेछ मेरो
नहुँदो रहेछ खलबल, नहुँदा तिमी नजिकमा
अधुरो प्रयास हुन्छ, म गरूँ त सोह्र शृंगार
तिमीझैँ हुने छ गाजल, नहुँदा तिमी नजिकमा
न दियौ खुसीको मौका, न गयौ दुखी बनाई
नमरी मरेँ म पलपल, नहुँदा तिमी नजिकमा ।